अन्तरघात गरेको आरोपमा बैतडीमा १७ जना एमाले नेता–कार्यकर्तामाथि कारबाही


३ साउन । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेर आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेल्नेहरुलाई अहिले सबैजसो राजनीतिक दलले धमाधम कारबाही गर्न थालेका छन् । कारबाहीका क्रममा निस्काशन गर्ने, स्पष्टिकरण सोध्नेलगायत कार्यहरु एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायत दलहरुले गरिरहेका छन् ।

यसै क्रममा, एमाले बैतडीले जिम्मेवार पदमा बसेर चुनावमा अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । यसरी निस्काशनमा पर्नेहरुमा जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कँुवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरा रहेका छन् । उनीहरुलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको बताइएको छ ।

यसैगरी, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला सङ्घका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको बताइएको छ ।

एमाले बैतडीको बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडास्तरबाट निर्णय गरी साउन १५ गतेभित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।

स्थानीय तहको निर्वाचनमा बैतडीको १० तहमध्ये एमालेले ३ तहमा मात्र चुनाव जितेको थियो । कांग्रेसले ६ र माओवादी केन्द्रले १ तहमा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्