‘अपहरण गर्‍यो भनेर बाबुरामजीको सचिवालयबाट प्रचार गरियो’


काठमाडौं, १२ बैसाख । उपत्यकामा अलपत्र परेर घर जाने क्रममा रहेका मजदुरलाई व्यवस्थापन गर्ने उच्चस्तरीय समन्वय समितिको अनौपचारिक सहमति र प्रधानमन्त्रीको आदेशलाई हामीले कार्यान्वयन गर्ने सन्दर्भमा भक्तपुरमा चार ठाउँमा खाना खुवाएर जगाती नाकाबाट लागिरहेका थियौं ।

त्यसक्रममा बाटो जाम भयो, उनीहरूले दुःख पायौं भन्ने गुनासो आइरहेकाले तीन दिनको समीक्षा पनि हुने, भकुण्डे हुँदै पाँचखाल जाने योजना बनेपछि माननीय किसन र म एउटा गाडीमा थियौँ ।

त्यही सिलसिलामा पूर्वआइजिपी सर्वेन्द्र खनालले तपाईंको जिल्ला जगाती आएको छु भन्दै फोन गरेकाले हामी सँगसँगै गयौँ । फोरमभित्र साथीहरू असन्तुष्ट रहेको, त्यहाँभित्रको शोषण, अन्याय, सांसदहरूको अपमान, अवहेलना र नेतृत्वको निरंकुश शैलीबारे उहाँहरूले सेयर गर्ने गर्नु हुन्थ्यो । यही सिलसिलामा उहाँहरूको प्रमुख सचेतक उमाशंकरजीमार्फत डा. सुरेन्द्र यादवले भेट्न खोजेको भन्ने भएपछि महोत्तरी जाऊँ भन्ने भयो ।

हामी उहाँको घर महोत्तरी पुग्यौँ । भाउजूले खाना बनाउनुभो, दुई डाक्टर छोरीहरूले खाना ‘सर्भ’ गर्नुभो । पारिवारिक वातावरणमा रमाइलो तरिकाले राजनीतिक कुराकानी पनि भयो । मानन्धर समूहबाट राजनीति सुरु गर्नुभएको उहाँ कम्युनिस्ट पृष्ठभूमिको, खान्दानी परिवारकै मान्छे हुनुहुँदो रहेछ ।

कम्युनिस्ट पार्टीसँग लगाव, मन्त्रीका रूपमा प्रधानमन्त्रीसँग काम गर्दाका मीठा अनुभूतिहरू, कतिपय मान्छेले फसाउन खोजेका, उहाँकै पार्टीका मान्छेले मुद्दा लगाउन खोजेका जस्ता सबै कुरा सेयर गर्ने दौरानमा हामीले अब राजनीतिलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ, अब कम्युनिस्ट पार्टीसँग सहकार्य र एकता गर्ने, यसक्रममा प्रवेशै गर्ने तहसम्म पनि सोच्न सक्छौँ है, एउटा ठूलै टिम हामीसँग छ भन्ने सूचना उहाँले दिनुभयो ।

त्यसपछि हामीले व्यवस्थित हिसाबले काठमाडौं गएर छलफल गरौँ भन्ने प्रस्ताव गर्‍यौँ । तर, उहाँले धनुषाका माननीय सूर्यनारायण यादवजीसँग पनि कुरा गरौँ भनेपछि हामी बर्दिबास बस्यौँ, उहाँ कुरा गर्न जानुभो ।

उहाँको गाडीमा एक जना प्रदेश सभा सांसद, कौशलजी, भिनाजु, डाइरेक्टर साप, भान्जा, पिएसओसहित हुनुहुन्थ्यो । आउने क्रममा प्रधानमन्त्रीसँग भेटेर नयाँ ढंगले जाने भन्ने सहमति थियो । धनुषाका सांसद र बाराका सांसदले पनि सल्लाहका क्रममा तपाईंहरूको बाटोमा हिँड्न तयार छौं भन्नुभो ।

त्यसपछि साढे ३ बजे राति म्यारियट होटेलमा आएपछि त्यहीँ बस्ने कुरा भो उहाँहरूको । हामी छाडेर खाना खान फ्रेस हुन आयौं । उच्च नेतृत्वको भेट भएकाले ८–९ बजेतिर प्रधानमन्त्री ज्यूसँग भेट हुन पनि सक्छ, त्यसभन्दा ढिला पनि हुन सक्छ भन्ने कुरा थियो ।

समाजवादीका साथीहरू ८–९ जना बसिरहेको, कतै २–३ जना बसेको हामीले पनि थाहा पाएका थियौँ । तर उहाँहरूको आन्तरिक जीवनमा किन चासो राख्ने भनेर निस्कियौँ । तर, पछि हामीलाई एकाएक अपहरणमा संलग्न भन्दै बाबुरामजीको सचिवालयका विश्वदीप पाण्डेले नाम सार्वजनिक गरेछन् ।

सांसदहरूको बीचमा, दुई दलका नेताहरूका बीचमा हुने छलफल, अन्तरक्रियालाई त्यस ढंगले व्याख्या गर्ने हो भने त बाबुरामजीहरू त हिजो द्वन्द्वबाट आउनु भयो । त्यसक्रममा त उहाँले कतिको हत्या, अपहरण गर्नुभो, के–के गर्नुभो । द्वन्द्वलाई समाधान गर्न मुलुकले एउटा समझदारीको बाटो अपनायो । तर, मित्रवत् ढंगले भएको कुरालाई उहाँ र उहाँको परिवारले सहकार्यका रूपमा लिएको छ ।

यसरी व्यक्तिको चरित्रहत्या गर्ने र आक्रोश, कुण्ठा र निराशा पोख्ने ढंगले विश्वदीपजीले जुन काम गर्नुभो, त्यो नेपालको राजनीतिको अचकल्टो वा कोकल्याँटो प्रवृत्ति हो भन्ने मलाई लाग्दछ । आफू हिरो हुँ भन्ने जुन मपाइँत्ववाद छ, त्यो उहाँमा पनि प्रकट भएको देखिन्छ । मैले यो घटनालाई राजनीतिको सामान्य नियमित प्रक्रिया हो भन्ने बुझेको छु, अन्यथा ढंगले लिएको छैन ।

उमाशंकरजीको प्रस्तावपछि हामी गएका हौँ
कृष्णकुमार श्रेष्ठ, नेकपा सांसद
मलाई अपहरण गरिएको होइन भनेर माननीय डा. सुरेन्द्र यादव आफैले खण्डन गरिरहनु भएको छ । बुधबार बिहान जनकपुरस्थित उहाँको घरमा गएर हामीले खाना खायौँ । उहाँसँग छलफल गर्‍यौँ, अनि उहाँको पार्टीको प्रमुख सचेतक उमाशंकर अरगरिया पनि साथमै हुनुहुन्थ्यो, छलफलमा ल काठमाडौं जाऊँ भनेपछि हामी यता (काठमाडौं) आएका हौँ ।

उहाँले नै दबाब दिएर वा अपहरण शैलीमा मलाई ल्याएको होइन भन्नुभएको छ । उहाँको पनि गाडी, हाम्रो पनि गाडी आरामले गफ गर्दै सिन्धुलीमा सामान्य चिया–नास्ता खाइयो, धुलिखेलमा आएर खाना खाइयो ।

अनि काठमाडौं आएर राति ३ बजिसकेको थियो, त्यसैले होटेल म्यारियट गइयो । यदि हामीले त्यस्तो कुनियत राख्थ्यौँ भने उहाँलाई छुट्टै कोठा, उमाशंकर अरगरिया छुट्टै कोठा, हामी छुट्टै कोठा, पिएसओहरूलाई छुट्टै कोठा हुन्थेन होला । अरू कुरा त उहाँहरूकै कुरा हो । के कुरा मिलेन, कसरी के भयो भन्ने कुरामा हामीले बोल्ने कुरै होइन ।

हामीले त खालि उमाशंकरजीले हामीलाई एकजना मान्छे कमी भो, डाक्टरसापलाई प्रस्ताव राख्दा आउनुभो भने सजिलो हुन्छ भन्ने कुरा राखेपछि लौन त जाऊँ, सहयोग हुन्छ भन्ने हिसाबले गएका हौँ ।

अहिलेको लकडाउनका वेला के, कस्तो छ अवस्था भिजिट पनि हुने भन्ने भएपछि हामी गएका हौँ, अरू नियतले दबाब दिन वा नल्याइनहुने हिसाबले गएका होइनौँ ।

काठमाडौं जान्छु भनेपछि उहाँ पनि माननीय, हामी पनि माननीय जाऊँ भनेर दुई गाडीमा फर्किएका हौँ । उहाँहरू दुवै जनाले काठमाडौंमा रेणु यादवसहित टिम बस्नुभएको छ, सबै बसेर सल्लाह गरेपछि जे निर्णय हुन्छ, त्यही गर्ने भन्ने थियो । उहाँ सीधा, इमानदार मान्छे नै हो ।

यदि उहाँ त्यस्तो हुनुहुन्थेन भने त राजनीतिक फाइदाका हिसाबले जे पनि भन्न सक्नुहुन्थ्यो, एउटा फण्डा गरौँ पनि भन्न सक्नुहुन्थ्यो होला । तर, उहाँले जे भएको हो त्यही नै भन्नुभो । हामीले उहाँको परिवारसँग सँगै बसेर खाना खायौं । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्