अपार्टमेन्टमा बस्ने सवैको परिक्षण सुरु,उनीहरुसँग संलग्नको ट्रेसिङ पनि सुरु


काठमाडौंं, २ बैशाख । पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामध्ये दुईजनामा कोराना संक्रमण पुष्टि भएपछि सो अपार्टमेन्टमा बस्ने सवैको परिक्षण गरिने भएको छ ।
चार साताअघि बेलायतबाट आएर सो अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जनामध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा बस्ने ५ सय परिवारका करिब २ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिने भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सो परिवारका ८१ वर्षीया आमा र ५८ वर्षीया छोरामा संक्रमण पुष्टि भएको हो। यी आमाछोरा र बुहारी चैत ५ गते लण्डनबाट नेपाल फर्केका थिए। वैशाख १ गते र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा उनिहरुमा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआर विधिद्वारा थप परीक्षण गरी पुष्टि भएको हो। बुहारीको परीक्षण भइरहेको र केहीबेरमा थाहा हुने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ।

अहिले सो अपार्मेन्ट सिल गरिएको छ भने सबैको परीक्षण सोमबारदेखि नै सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। उनीहरुसँग संलग्नहरुको ट्रेसिङ गर्ने काम पनि सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। विदेशबाट आएका मानिसलाई र्‍यापिड टेस्ट गर्ने क्रममा अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका  उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्