अफगानिस्तानबाट उडेको विमान तीन बजे आइपुग्दै


८ असार । आत्मघाती बम आक्रमणमा परी मारिएका र घाइते नेपाली लिन अफगानिस्तानको काबुल गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो करिब ३ बजे नेपाल आइपुग्ने भएको छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज अफगानिस्तानबाट उडिसकेको जानकारी दिए । ‘जहाज नेपाली समय अनुसार मध्याह्न १२ बजेर ६ मिनेटमा उडेको छ,’ कंसाकारले भने, ‘अफगानिस्तानबाट विमान करिब ३ घण्टाको उडानपछि नेपाल आइपुग्ने भएकाले तीन बज्नसक्छ ।’

चार्टर गरिएको वायुसेवा निगमको विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने सेड्युल थियो । आक्रमणमा मारिएका र घाइते नेपाली बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ बजे अवतरण गर्ने सेड्युल अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ११ देखि १२ बजेसम्म विमानस्थल पुग्ने कार्यक्रम तय भएको थियो ।

आक्रमणमा मारिएका र घाइते नेपाली बोकेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ बजे अवतरण गर्ने सेड्युल अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ११ देखि १२ बजेसम्म विमानस्थल पुग्ने कार्यक्रम तय भएको थियो ।

सेड्युल भन्दा करिब ३ घण्टा ढिलो गरी त्रिभुवन विमानस्थलमा विमान अवतरण हुने भएपछि प्रधानमन्त्री ओली पनि करिब तीन बजे मात्रै त्यहाँ पुग्ने भएका छन् । ‘प्रधानमन्त्री ज्युको साढे ११ देखि १२ बजेसम्ममा विमानस्थल पुग्ने कार्यक्रम थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘विमान आउन ढिला हुने भएपछि अब उहाँ पनि पौने तीनदेखि तीन बजेसम्ममा विमानस्थल जाने कार्यक्रम छ । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री कमल थापा पनि जाने कार्यक्रम छ ।

‘नेपालबाट बिहान साढे ३ बजे त्यसतर्फ उडेको विमान साढे ६ बजे अफगानिस्तानको राजधानी काबुल अवतरण गरेको थियो। विमान बिहान साढे ११ बजे काठमाडौँ फर्किने तय भएको थियो,’ कंसाकारले भने, ‘केही प्राविधिक कारणले ढिला भयो ।’ कंसाकारले विमान क्याप्टेन सुवास रिजाल र क्याप्टेन श्रवण रिजालले उडाएको जानकारी दिए ।

परराष्ट्र मन्त्रालय प्रवक्ता भरतराज पौडेलले विमानमा आक्रमणमा परी मारिएका १२ जनाको शब र २४ नेपालीलाई ल्याएको जानकारी दिए । ‘२४ जनामा घाइतेहरु पनि हुनुहुन्छ,’ पौडेलले भने, ‘तर कति जना भन्ने अहिले यकिन छैन, यहाँ ल्याएपछि मात्र थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्