अब आर्थिक समृद्धिमा लाग्नुपर्छः उपराष्ट्रपति पुन


२२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले देश लामो समय राजनीतिक परिवर्तनमा लागेकाले अब आर्थिक समृद्धिमा लाग्नुपर्ने बताएका छन् ।

मानव विकास तथा सामुदायिक सेवाको रजतोत्सवका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले हिमाल, तराई र पहाड सबै क्षेत्रमा बसोबास गर्ने नेपाली मिलेर लाग्दा मात्रै समृद्ध नेपाल निर्माण सम्भव भएको बताए ।

आयुर्वेदिक र प्राकतिक चिकित्साको प्रवद्र्धन र संरक्षणमा लाग्न उनले सरकारको ध्यानाकर्षण समेत गरे । ‘सरकार स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन लाग्नुपर्छ, स्वास्थ्य बिमा प्रभावकारी बनाएर सेवामा सबैको पहुँच पु¥याउनुपर्छ,’ उनले भने ।

सो अवसरमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकार पुग्न नसकेका ठाउँमा समेत पुगेर काम गरिरहेका गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रशंसा गर्दै राम्रा काम गरिरहेकाहरुले मानवतावादी कामलाई निरन्तरता दिनुपर्ने र जुनसुकै जात र धर्मको भए पनि नेपालीहरु एकार्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताए । संस्थाका कार्यकारी निर्देशक डा तीर्थ थापाले संस्थाले २५ वर्षदेखि निरन्तर गरिब र असहायलाई सेवा गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्