अब एमालेलाई ठूलो दल बन्न कसैले रोक्न सक्दैनः वरिष्ठ नेता नेपाल


२१ चैत । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनपछि एमाले मुलुककै ठूलो दल बन्ने बताएका छन् । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा आइतबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘स्थानीय तहको निर्वाचनपछि एमालेलाई ठूलो दल बन्न कसैले रोक्न सक्दैनन् ।’

आगामी वैशाख ३१ मा चुनाव अपरिहार्य रहेको बताउँदै नेता नेपालले भने, ‘एमाले राष्ट्रिय स्वाभिमानका निम्ति लड्ने पार्टी भएको हुँदा राष्ट्रकै पहरेदार बन्न पुगेको छ । त्यही कारण एमालेप्रति जनाधार बढ्दै गएको छ ।’ नेता नेपालले वृद्ध, अपांग, अल्पसंख्यकहरुका आवाजलाई एमालेले सम्बोधन गरेको पनि बताए ।

सो सभामा एमाले केन्द्रीय सदस्य पद्मा अर्याल, केन्द्रीय लेखा आयोगका सदस्य ढाकाराम अर्याल, राष्ट्रिय हित सम्बद्र्धन तथा सुरक्षा विभागका सचिव सोभियत ढकाल र सदस्य मीना गुरुङ, एमाले स्याङ्जाका उपसचिव रामचन्द्र भट्टराई र लोकगायक पुरुषेत्तम न्यौपानेलगायतका उपस्थिति रहेको थियो ।

वरिष्ठ नेता नेपालले यसअघि चैत १९ गते स्याङ्जाकै फेदीखोला गाउँपालिका कार्यालयको उद्घाटन गरेका थिए भने कालीगण्डकी गाउँपालिकाको ७ वडा कार्यालयको पनि उद्घाटन गरेका थिए । नेता नेपालले गल्याङस्थित एक सहकारी भवनको पनि उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्