अब बीमा पोलीसीबाटै उपचार


मोहन बास्तोला १५ असार ।  अव उपचारका लागि पैसा नै नभएर बञ्चिन हुन नपर्ने भएको छ । स्वास्थ्य सेवामा सहज पहुँच नपुगेका सवै नेपालीको उपचार गर्ने उद्देश्य अनुरुप बीमा समितिले सवै नेपालीको स्वास्थ्य बीमा गर्न सम्बद्ध बीमा कम्पनीलाई निर्देशन जारी गरेको छ । सरकारले आर्थिक वर्ष २०७३–०७४ को बजेट बक्तव्य मार्फत ल्याएको सवै नेपालीको बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन समितिले सम्बद्ध बीमा कम्पनीलाई सर्कुलर जारी गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयनमा ल्याउनका बीमा कम्पनीलाई सर्कुलर जारी गरि सकेको बीमा समितिका निर्देशक श्रीमान कार्कीले बताए । समितिले स्वास्थ्य बीमालाई छिट्टै कार्यान्वयनमा ल्याउन लागेको सोही अनुरुप आवश्यक पूर्वाधार तयार गर्न सकुर्लर जारी गरेको उनले जानकारी दिए ।

पहिलो चरणमा विभिन्न २५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याइने भएको छ । यसलाई कार्यान्वयनमा ल्याउने सम्बन्धमा मोडल तयार गर्ने काम भइरहेको छ । बीमा कम्पनीले यस अघिनै स्वास्थ्य बीमा सम्बन्धी प्रोडक्ट बनाएर कार्यान्वयमा ल्याएका थिए । तर, सरकारले अनुदानको रुपमा सवै नेपालीमा अनिवार्य बीमा कार्यक्रम कार्यान्वयमा ल्याउन लागेकाले केही परिवर्तन गरिने समितिले जानकारी दिएको छ । साथै, सरल र सहज रुपमा कार्यान्वयनमा ल्याउनका लागि तेस्रो पक्ष सहजकर्ताको समेत व्यवस्था गरिने उनको भनाइ छ ।

सो कार्यक्रम कार्यान्वयमा ल्याउनका लागि सरकारले बजेट वक्तव्यमार्फत २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । सो रकमलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ‘उक्त रकमबाट स्वास्थ्य बीमा गराउँदा सम्बन्धित व्यक्तिलाई कति अनुदान दिने भन्ने विषयमा टुङ्गो लगाउन बाँकी छ,’ उनले भने, ‘सम्बवत केही रकम विमितको तर्फबाट र अन्य पैसा अनुदानमा उपब्ध गराइने छ ।’ तर, सरकारले कुल बीमा रकमको कति प्रतिशत रकम तिरिदिने भन्ने विषयमा टुङ्गो लागेको छैन । सवै नेपालीको अनिवार्य स्वास्थ्य बीमालाई कार्यान्वयनमा ल्याउन सोही अनुसार पूर्वाधार आवश्यक रहेकाले पूर्वाधार निर्माणका लागि समितिले सरकारसँग पनि आग्रह गरेको छ ।

स्वास्थ्य बीमा गरानका लागि बीमा कम्पनीहरु तयार रहेको र सोका लागि सरकारबाट स्पष्ट खाका आउनु पर्ने नेपाल विमक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक शाहले बताए । ‘हाल सरकारले बजेटबाट घोषणा मात्र गरेको छ,’ उनले भने, ‘तर, यसलाई कुन–कुन जिल्लामा कुन तहका व्यक्तिमा कार्यान्यमा ल्याइने हो स्पष्ट हुनु जरुरी छ ।’ हाल सरकारले विनियोजन गरेको रकमले २५ वटा जिल्लाका मानिसको स्वास्थ्य बीमा गर्न पुग्ने समेत उनको भनाइ छ ।

साथै उक्त नीति अनुसार बीमा गराउँदा कुनै व्यक्ति विरामी भएमा उपचारको लागि पैसा आवश्यक पर्ने छैन । बीमा गराउँदा नै त्यस अन्तरगत कति रकमसम्मको के–कस्ता रोगको उपचार गरिने छ भन्ने विषयमा उल्लेख गरिने छ । सो अन्तरगतका रोग लागेमा वा दुर्घटना भएका सम्बन्धित व्यक्तिले पोलीसी बोकेर गएमा उपचार गर्न सक्नेछन् । सरकारले ल्याएको स्वास्थ्य बीमाको स्किमलाई बीमा कम्पनीले एकल वा सामुहिक रुपमा कार्यान्वयनमा ल्याउने छ ।

प्रतिक्रिया दिनुहोस्