अमरेशकुमार सिंहलाई तत्काल देश निकाला गर्न अनेरास्ववियुको माग


८ साउन । अनेरास्ववियुले पनि नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई तत्काल देश निकाला गर्न माग गरेको छ । ‘भारतको माना खाएर गाना गाउँने अमरेशकुमार सिंह देशद्रोही हुन्,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, ‘यस्ता व्यक्तिलाई तत्काल देश निकाला गर्नुपर्छ ।’

उनले नेपालमा बसेर भारतको चाकडी गर्ने सिंहले संसद्मा जथाभावी बोलेको भन्दै तत्काल उनको सदस्यता खारेजी गर्नुपर्ने पनि माग गरे ।

‘लोकतन्त्र र प्रजातन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेसले देशद्रोहीलाई सदस्य बनाएर राख्नु राज्य र कांग्रेसका लागि पनि सुहाउँदो कुरा होइन,’ उनले भने, ‘देशको प्रधानमन्त्रीलाई मानसिक सन्तुलन ठीक नभएको भन्ने सिंहकै मानसिक सन्तुलन ठीक छ कि छैन भनेर जाँच गर्नु पर्ने भएको छ ।’

सिंहले शनिबार व्यवस्थापिका संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि उनको सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्