अमरेशकुमार सिंहलाई समातेर प्रहरीको जिम्मा लगाउँछौँः युवा संघ


८ साउन । युवा संघ नेपालले नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

नेपाली कांग्रेसका सांसद् समेत रहेका सिंहले शनिबार व्यवस्थापिका संसद्मा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि युवा संघले सिंहलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

‘सम्माननीय संसद्मा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक सन्तुलन ठीक नभएको भनी गरेको टिप्पणी खेदजनक छ,’ युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘त्यस्ता व्यक्तिलाई प्रशासनले तत्काल समातेर कारबाही प्रक्रिया अघि बढाउनु पर्छ ।’

उनले युवाले गरेको आग्रहलाई व्यवास्था गरे युवा संघ आफैले सिंहलाई समातेर प्रशासनको जिम्मा लगाउने चेतावनी दिए ।

‘युवा संघ कानुन हातमा लिने पक्षमा छैन,’ उनले भने, ‘प्रशानले त्यस्ता व्यक्तिलाई कारवाही नगरे युवा संघले समातेर प्रहरीलाई जिम्मा दिन्छ ।’ उनले सिंहलाई नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीको मानसिक सन्तुलन ठीक नभएको प्रमाण पेश गर्न पनि सिंहलाई चुनौति दिए ।

प्रतिक्रिया दिनुहोस्