अमर गिरीका दुई कविता


पसिना

चम्किरहेको मोती पनि फिक्का हुन्छ
जब घाम पर्छ निधारमा
र सूर्यका किरणहरुको स्पर्शमा
विचित्र आभा सहित चम्किन थाल्छ पसिना
अथाह गहिराइबाट
सुरु हुन्छ निस्कन
इतिहासको एक अध्याय
र ती अध्यायहरुमा
म देख्छु पसिनाको स्रष्टा अनुहार
जो बसेको छ
इतिहासको सबभन्दा माथिल्लो आसनमा
र रचिरहेछ संसार

पसिना बिना
म कल्पना गर्न सक्दिनँ संसारको
जीवनको, सौन्दर्यको
हेर्छु,
कौसीको गमलामा फुलेको
गुलाफको फूल
त्यहाँ पनि
विचित्र छटासहित
मुस्कुराइरहेको हुन्छ पसिना
फूलका पत्र पत्रहरुमा ।

अमलेखगञ्ज

साँचो हो
इतिहासले जन्मायो अमलेखगञ्ज
स्वयं मालिकले सुरु गर्यो
यो अभियान
तर कुन मालिकबाट
अमलेख भएको हो
अमलेखगञ्ज ?

पीडाको पहाड टुट्यो कि ?
दुःखको भारी घट्यो कि ?
भोक घट्यो कि ?
शोक घट्यो कि ?
चन्द्रशमशेरको जस्तै
बन्दुकको शासन घट्यो कि ?
होइन भने
कसरी अमलेख हुन्छ
अमलेखगञ्ज ?

भनिदिनु सजिलो छ मित्र
अमलेख भएको अमलेखगञ्ज
तर भन्दैमा कसरी अमलेख हुन्छ
अमलेखगञ्ज ?

प्रतिक्रिया दिनुहोस्