अमेरिका बस्ने नेपालीको सहयोगमा विद्यालय भवन निर्माण


१८ फागुन । वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले भत्किएको सिन्धुपाल्चोक जिल्लाको बच्छलादेवी माध्यामिक विद्यालयको अहिले रुप फेरिएको छ । सिन्धुपाल्चोकको घुम्थाङ नागपुजेमा अवस्थित सो विद्यालयमा अहिले सुविधा सम्पन्न सात कोठे भवन निर्माण भएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको सहयोग र नेपालमै रहेका समाजसेवी हातहरुको संयुक्त प्रयासमा त्यहाँ करिब ४० लाखको लगानीमा भवन निर्माण भएको हो । सो नवनिर्मित भवनको केही दिन अघि मात्र नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य अरुण नेपाल र एमाले विदेश विभाग सदस्य खगेन्द्रप्रसाद अधिकारीले हस्तान्तरण गरे । सो क्षेत्र नेपालको निर्वाचन क्षेत्र पनि हो ।

हेम–सरिता फाउण्डेशन, युएस नेपाल वेलफेयर र गामा इण्टरनेशनलको संयुक्त लगानीमा आरती इण्टरनेशनल कम्पनीले सो भवन निर्माण गरेको हो । ४० लाख लगानीको सो भवनमा आरती इण्टरनेशनलको रु दश लाख साझेदारी रहेको छ । लगानीकर्ताका तर्फबाट प्रतिनिधिसमेत रहेका अधिकारीले विदेशी भूमिमा रहेर पनि नेपालप्रति सहयोग गर्ने उदार मन भएका नेपालीहरुको सहयोगले भवन निर्माण हुन सकेको बताए । ‘यो एउटा सानो प्रयास हो,’ अधिकारीले भने, ‘हामी अझै धेरै गर्न चाहन्छौँ ।

हामीलाई अझै सहयोगी हातहरुको खाँचो छ ।’ उनले अमेरिकामा बसेर पनि नेपाल सम्झेको भन्दै सहयोग गर्ने हेम–सरिता फाउण्डेशनका अध्यक्ष हेम पाठक, युएस नेपाल वेलफेयरका मदन सिवाकोटी र टेक्सास युनिभर्सिटीका प्राध्यापक नविन दाहाल त्यसैगरी गामा इण्टरनेशनलका राजु दाहाललगायतको सहयोगले भवन निर्माण भएको भन्दै अधिकारीले सबैलाई धन्यवाद दिए ।1 14

प्रतिक्रिया दिनुहोस्