अमेरिका, वेलायत र जापानका युवाको सपना नेपाल बन्नुपर्छः विष्ट


काठमाडौँः नेकपा (एमाले) सचिव एवं मोर्चाफाँट इञ्चार्ज गोकर्ण विष्टले नेपालमा संभावनाको अभावमा हजारौँ युवाहरु निरास बन्ने गरेको र नेपालबाट पलायन बन्ने परम्परा बढेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

‘क्षमता र संभावना बोकेका युवाहरुलाई उनीहरुको प्रतिभाको उपयोग गर्न नसक्दा विदेश पलाएन भएका छन्,’ नेता विष्टले उनकै निवासमा कुराकानी गर्दै भने, ‘शिक्षित युवाहरु युरोप–अमेरिका र केही कम शिक्षित युवाहरु खाडी र मेलसियाको सपना बोक्न बाध्य भएका छन् । यो नेपालका लागि पनि दुर्भाग्य हो ।’

विष्टले उनीहरुको श्रम–सीप र जवानी खाडी मुलुकमा खर्च हुनु सकारात्मक नभएको टिप्पणी गरे । ‘यस्तो अवस्था सिर्जना नहोस भन्नका लागि कम्तीमा बेरोजगार युवाहरुलाई नेपालमा रोजगारीको अवसर दिन राज्य तयार हुनुपर्छ । त्यसका लागि युवा पनि तयार हुनुपर्छ,’ उनले भने, ‘अहिले हजारौँ युवा नेपालमा श्रम गर्न लजाउँने र बाहिर गएर श्रम गर्न तयार हुने अवस्था पनि छ । यो मानसिकताबाट पनि युवा माथि उठ्न जरुरी छ ।’

उनले शिक्षित युवा युरोप–अमेरिका पलाएन भएको भन्दै उनीहरुको क्षमतालाई नेपालमा भरपुर सदुपयोग गर्ने वातावरण निर्माण गर्न राज्य तयार हुनुपर्ने जिकिर गरे । ‘यो भयो भने मात्र हामीले नेपाललाई संवृद्ध बनाउँन सक्छौँ । नभए नेपाल बालबालिका र वृद्धहरुको मात्र देश बन्ने छ । जोसिला युवाको यौवन, श्रम र सीप विदेशमा खर्चिने अवस्था बन्छ । यो सुदुर भविश्यका लागि पनि दुर्भाग्यपूर्ण हुन्छ ।’

उनले सरकारले स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नु आवश्यक भएको भन्दै विदेशी युवाले समेत नेपालको सपना देख्ने वातावरण बनाउँन सरकार र राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए । ‘ अब नेपाली युवा अमेरिका, वेलायत, जापान होइन त्यहाँका युवाको सपना नेपाल बन्न सक्नुपर्छ,’ उनले भने, ‘नेपालको प्राकृतिक स्रोध–साधनलाई समेत भरपुर उपयोग गरेर नेपालाई संवृद्ध बनाउँने योजनामा सबै लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्