अमेरिकी गायक बब डायलनले पाए नोबेल साहित्य पुरस्कार


२७ असोज । धेरैले सोचेका थिए, यस पटकको नोबेल साहित्य पुरस्कार विश्वका चर्चित चार साहित्य–स्रष्टामध्ये एकजनाले उम्काउने छन् । ती चार जनामा थिए– जापानका उपन्यासकार हारुकी मुराकामी, अमेरिकी उपन्यासकार फिलिप रोथ, नर्वेका लेखक जोन फास र सिरियाका कवि एडोनिस । यी चारै जना विश्व साहित्यका चर्चित र धेरै नै पढिनेमध्ये पर्दछन् ।

तर, सबैको अनुमानलाई गलत ठह¥याउँदै यस पटकको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी गायक एवं गीतकार बब डायलनले पाएका छन् । बिहीबार बसेको नोबेल पुरस्कार समितिको बैठकले यी अमेरिकी सर्जकलाई ८ मिलियनको नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।

स्वीडिस एकेडेमीले डायलनलाई गीत÷संगीतका माध्यमद्वारा अमेरिकी संस्कृतिमा नयाँ शैलीलाई भित्र्याएबापत उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । डायलन यो वर्षको नोबेल पुरस्कार पाउने अन्तिम व्यक्ति हुन् । यसअघि चिकित्सा, भौतिक, रसायन, शान्ति र अर्थशास्त्रतर्फको पुरस्कार घोषणा भइसकेको छ ।

विश्वभरि नै गायक, गीतकार, लेखक र चित्रकारको परिचय बनाएका डायलन धेरै हिसाबले गायनमा नै जमेका छन् । उनका गीतहरु हृदयलाई छुने खालका नभएर मनमस्तिष्क हल्लाउने खालका छन् । त्यसैले उनका गीतहरुले माइकल ज्याक्सनका जस्ता मीठास र मधुरता नछरे पनि चेतना प्रवाह र विस्तारका हिसाबले महत्वपूर्ण मानिन्छन् । कतिपयले त उनलाई गीत गाउन नजान्ने गायकका रुपमा पनि अथ्र्याउछन् ।

सन् १९४१ मा जन्मिएका उनले थुप्रै लोक, रकलगायत गीत गाएका छन् र त्यत्ति नै संख्यामा गीतहरु सिर्जना पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्