अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुने भेटमा गोर्खा सैनिकले सुरक्षा दिने


काठमाडौ, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन यही महिना सिङ्गापुरमा हुने ऐतिहासिक शिखर वार्ताको क्रममा भेट गर्दैछन्। दुई ‘विपरित ध्रुव’का नेताहरुको सुरक्षाको जिम्मेवारी संसारको सबैभन्दा ठूलो तथा शक्तिशाली योद्धाहरुको समूह नेपालका गोर्खाहरुले गर्ने भएका छन्।
दुवै नेताहरुले आफ्ना निजी सुरक्षा दस्ता सँगै ल्याउने भए पनि उनीहरुको सुरक्षाका लागि सिंगापुर पुलिसको गोर्खा दस्ताले सम्मेलन स्थल, सडक र होटलहरुको सुरक्षा प्रदान गर्ने सुरक्षा सम्बन्धि अधिकारीसँग जानकार रहेका एक कुटनीतिज्ञले जानकारी दिएका छन्।

सिंगापुर पुलिसमा ‘लो प्रोफाइल’ हैसियतमा रहेका गोर्खाहरुले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी डिफेन्स सेक्रेटरी जिम माटिस र अन्य उच्च अधिकारीहरुलाई गत महिना आयोजित सुरक्षा सम्मेलनमा सांग्रिला होटेलमा सुरक्षा प्रदान गरेका थिए।
गोर्खाहरु शरीर कवजसहित बेल्जियममा निर्मित एफएन एससीएआर युद्धक, आक्रमक राइफल्स र खुट्टामा पेस्तोल सहित सम्मेलनमा उपस्थित हुने छन्।
‘सबै अत्याधुनिक हतियारका वावजुद पनि गोर्खाहरु खुकुरीविना कुनै पनि युद्ध र प्रतिरक्षाको तयारी गर्दैनन्। उनीहरुको रोजाइमा केही मोडिएको परम्परागत हतियार पर्छ। किम्वदन्ती अनुसार खुकुरीलाई हरेकसमय रगत आवश्यक हुन्छ,’ रिपोर्टमा अगाडि भनिएको छ।

ट्रम्प र किमको सुरक्षाका लागि ‘सिंगापुरले प्रस्ताव गर्ने एउटा उत्तम विकल्प नै उनीहरु हुन् र म विश्वस्त छु की उनीहरु यो सम्मेलनमा संलग्न हुनेछन्,’ इन्टरनेशनल इन्स्टिच्यूट फर स्ट्राटेजिक स्टडिज आईआईएसएसका सिंगापुर सशस्त्रबल सम्बन्धि विज्ञ टिम हक्स्लेले भनेका छन्, ‘उनीहरु अग्रपंक्तिमा उभिने उपयुक्त शक्ति हुन्।‘

सिंगापुर पुलिसका प्रवक्ताले सम्मेलनको सुरक्षाका लागि परिचालन हुने गोर्खा तथा त्यहाँका प्रहरीको संख्याको बारेमा भने खुलाउन चाहेका छैनन्।

आईआईएसए मिलिटरी व्यालेन्सका अनुसार एक हजार ८ सय गोर्खाहरु त्यहाँका ६ अर्धसैन्य कम्पनीमा सिंगापुर पुलिस मातहत काम गरिरहेका छन्।
वेलायती साम्राज्यको अन्त्यसँगै त्यसैको लिगेसीको रुपमा सिंगापुर पुलिसमा नेपालीलाई भर्ना गरिँदै आएको छ। उनीहरु वेलायती गोर्खा सैनिकसँग तुलना गरिन्छ। गोर्खाहरु करिब २ सय वर्षदेखि यहाँ सुरक्षाको काम गर्दै आएका छन्।
१९ औँ शताब्दीमा नेपालसँगको युद्धमा पराजित भएको वेलायतले नेपाली गोर्खा सैनिकको युद्ध कौशलता र बहादुरीका कारण आफ्नो सेनामा भर्ना गर्न थालेको हो।
हाल गोर्खा सैनिकहरु वेलायत, भारतीय सैनिक तथा ब्रुनाई र सिंगापुर प्रहरीमा समेत कार्यरत छन्।
गोर्खाहरुले दुवै विश्वयुद्ध सँगै फोकल्यण्ड र हालैको अफगानस्तानको युद्धमा समेत लडेका छन्।
रोयटर्सका लागि सिङ्गापुरबाट ग्रेग टोरोड र डेबी सिमको रिपोर्ट अनुसार ट्रम्प र किमको सुरक्षाका लागि खुकुरी र आक्रमक राइफल बोकेका गोर्खाहरु परिचालित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्