अम्बर–यात्राः दार्जिलिङदेखि ग्रान्डीसम्म


२५ जेठ । ‘दुर भएर के भो ?’ गीत गाएर लाखौँ नेपालीलाई भावुक बनाएका मूर्धन्य संगीतकार अम्बर गुरुङ अब उनको गित जस्तै हामी सबैबाट दूर भएका छन्, कहिल्यै नफर्किने गरी । ‘नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ’ भन्ने गित गाएर नौ जवानहरुलाई आँट भरेका अम्बर नाम जस्तै अमर बन्न सकेनन्, बरु नौ लाख तारा उदाए भन्ने अम्बर यो धर्तीबाट अस्ताए ।

वि.सं. १९९४ मा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको कोखबाट भारतको दार्जिलिङको लालढिकीमा जन्मिएका गुरुङको कर्म थलो नेपाल बन्यो । उनका बुबामात्र होइन, हजुरबुबा देवराज गुरुङ पनि सेनामा जागीर खान्थे । उनी त्यति परिवारमा हुर्के । पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ भए पनि उनको जन्म दार्जिलिङमा भयो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगित निर्देशकसमेत भएर काम गरेका गुरुङ हाल काठमाडौंको महाराजगञ्ज चक्रपथ नजिकै बसोबास गर्दै आएका थिए ।

२०१६ साल माघबाट गीतिलेखन प्रारम्भ गरेका गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा अगमसिंह गिरीले रचेको गीत ‘नौ लाख तारा उदाए’ रेकर्ड गरेका थिए । एक हप्तामै पाँच सय प्रति बिक्री भएको त्यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोमा प्रतिबन्धित भएको थियो। पछि त्यही गीत नेपाल र नेपालीको ढुकढुकी बन्यो ।

कुनै समय संगित स्कूल खोलेर अरुणा लामा, कर्म योन्जन, जितेन्द्र बर्देवा, ईन्द्र गजमेर, रञ्जित गजमेर, शरण प्रधान लगायतलाई संगितको ज्ञान भरेको उनको गित मन पराएर तत्कालीन राजा महेन्द्रले अम्बरलाई उनको जन्मोत्सवको अबसरमा नेपाल बोलाउने गरेका थिए । वि.सं.२०२५ सालमा नेपाल उनी महेन्द्रकै आग्रहमा नेपाल आएका थिए । २०२६ सालमा (दोस्रोपटक) नेपाल आएका बेला पनि राजा महेन्द्रले फेरि एकेडेमीमा बस्न प्रस्ताव दोहोर्‍याएपछि गुरुङ नेपाल आएर बस्न थालेको देखिन्छ ।

उनी २०२६ सालमा संगित विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश भएका थिए । उनले त्यहाँ संगित प्रमुख, संगित विषेशज्ञ, संगित संयोजक र संगित निर्देशक भएर काम गरेका थिए । पछि २०५४ मा उनी अवकाश भए । उनले चलचित्र मनको बाँध, जीवनरेखालगायतका थुप्रै्र चलचित्रमा संगित भरेका छन् । त्यसो त उनले माधव प्रसाद घिमिरेको मालती मंगले, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र कुन्जिनीमा उनैले संगीत दिएका थिए । सत्य मोहन जोशीको चारवाट नाटकमा पनि उनले संगीत दिएका थिए ।

नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी’मा समेत संगित भरेका अम्बर अमर नबने पनि उनको संगित नेपाल र नेपालीका लागि त्यसपछि साच्चै अमर बन्यो । अक्षरका आवाजहरू (गीतिसंग्रह, (२०६०) कहाँ गए ती दिनहरू (संस्मरण, निबन्ध, २०६३) , कहिले लहर कहिले तरंग (गीति क्यासेट), सम्हालेर राख (संयुक्त गीतिसंग्रह, २०६९) उनका प्रकाशित छन् ।

नेपाली भाषा साहित्यको जगेर्ना गरे वापत गुरुङले वि.सं. २०५४ सालको जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी उनले २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, सन् १९९४मा गिरी पुरस्कार गुठी दार्जिलीङबाट रु. १ लाख नगद प्रमाणपत्र, वि.सं.२०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार प्राप्त गरेका थिए ।

उनै अम्बरको ७९ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेट जाँदा निधन भयो । खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङ गत सोमबारदेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्