‘अयोधी–अठोट’ ले जगाएको आशा


१३ चैत । स्थानीय तहको निर्वाचन हुन अब ४९ दिन मात्र बाँकी छ । वैशाख ३१ लाई ‘महान् पर्व’ का रुपमा स्वीकार्दै हरेकजसो राजनीतिक दलहरुले जनताका बीचमा आफ्ना उम्मेद्वारसहित राजनीतिक एजेन्डालाई समेत लिएर जाँदैछन् । तर, एकाध बाहेकका राजनीतिक दलहरु सुस्ताएको आरोप लागिरहेकै बेला निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचनलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

आयोगले पूर्णता पाएलगत्तै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव आफू मात्र सक्रिय देखिएका छैनन्, आफ्नो टिमलाई पनि उत्तिकै परिचालित तुल्याइरहेका छन् । तोकिएकै समयमा निर्वाचन गराउने उनको सक्रियतालाई हेर्दा, निर्वाचन हुने हो वा नहुने हो भन्ने अन्योल स्वतः छायाँमा पर्दै गएको छ ।

शनिबार मात्रै विराटनगर पुगेर प्रमुख निर्वाचन आयुक्त डा. यादवले घोषणा गरे, ‘देश निर्वाचनमय भइसक्यो । अब कुनै पनि बहानामा चुनाव रोकिँदैन ।’ विराटनगरमा पत्रकारहरुसँग ‘निर्वाचन नरोकिने’ कुरा बताइरहँदा उनमा पूरै आत्मविश्वास जागेको देखिन्थ्यो । उनले मुखले मात्रै त्यो कुरा भनिरहेका थिएनन्, अन्तरआत्मादेखि नै उनले ती कुरा बोलिरहेका थिए । तर, उनले एउटा यथार्थ भने लुकाएनन् । त्यो थियो– २ नम्बर प्रदेश र पश्चिमका केही जिल्लामा भने चुनावको वातावरण बन्न सकिरहेको छैन ।

निर्वाचनबारे उब्जिएको अन्योल प्रमुख निर्वाचन आयुक्त डा. यादव र आयुक्तहरुले देखाएका सक्रियतालाई हेर्दा मेटिँदै गएको भान हुनु स्वाभाविकै मान्नुपर्छ । एकाध बाहेक प्रमुख राजनीतिक दलहरुले चुनावको वातावरण निर्माण गर्न नसकिरहेको बेला आयोगले भने त्यस्तो वातावरण बनाउन पछिल्लो समय भूमिका खेलिरहेको मान्न सकिन्छ । अन्योल कायमै रहेको बेला मतपत्रको छपाइ सुरु हुनुले निर्वाचनको सुनिश्चितता बढाउनुको साथै आशासमेत वृद्धि गरेको छ । अहिलेसम्म २२ जिल्लाका मतपत्रको छपाइ सकिइसकेको छ ।

त्यसो त, डा. यादवले देशैभरि एकै चरणमा निर्वाचन गर्न सकिनेमा आश्वस्त तुल्याएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त डा.नीलकण्ठ उप्रेतीले दुई वा तीन चरणमा निर्वाचन गर्नुपर्ने सुझाव दिइरहेकै बेला उप्रेतीकै नेतृत्वमा आयोगमा काम गरेका यादवले भने ‘एकै चरणमा गराउने अठोट’ व्यक्त गर्दै आएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा डा. उप्रेतीको टिममा रहेर काम गरिसकेका यादवमा अनुभवका हिसाबले पनि स्थानीय तहको निर्वाचन एकै चरणमा गराउन सकिने विश्वास पलाएको हुनसक्छ ।

मधेसी मोर्चाको बाहुल्य रहेको राजविराज स्थायी घर भएका डा. यादवले उपेन्द्र यादव, महेन्द्र राय यादवहरुका कार्यकर्ताको प्रहार पनि झेल्नुप¥यो । सप्तरी घटनापछि उत्तेजित भएका मधेसी मोर्चाका कार्यकर्ताहरुले एमालेका स्थानीय नेता र समर्थकहरुको घरमा आगजनी गर्ने क्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवको घर पनि तारोमा पर्न पुगेको थियो । उनको घरमा मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर तोडफोड गरे । तर, आफ्नो पुख्र्यौली घरमा तोडफोड भए पनि उनी रत्तिभर विचलित देखिएनन् । उनले त्यतिबेला भने पनि, ‘मेरो घर जलाए पनि म विचलित हुने छैन । निर्वाचन सम्पन्न गराएरै छाड्ने छु ।’

प्रतिक्रिया दिनुहोस्