अरुण चौथोबाट वञ्चित चिलिमेलाई बुढीगण्डकी र सेती


२५ असोज । पूर्वाधार बनिसकेको अरुण (चौथो) जलविद्युत आयोजनाको अनुमतिपत्र दिन अस्वीकार गरेको ऊर्जा मन्त्रालयले चिलिमे जलविद्युत कम्पनीलाई ५ सय ८५ मेघावाट क्षमताको दुई आयोजनाको अनुमतिपत्र भने दिएको छ । चिलिमेले अनुमतिपत्र पाएको बुढीगण्डकी प्रोक र सेती नदी तेस्रो जलविद्युत आयोजना निर्माणका हिसाबले अरु आयोजनाभन्दा महँगोसमेत पर्ने बताइन्छ ।

केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयले ४ सय २० मेघावाट क्षमताको गोरखाको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना र १ सय ६५ मेघावाट क्षमताको बझाङको सेती जलविद्युत आयोजनाको लाइसेन्स दिएको छ । तर, यी दुवै आयोजनाको अध्ययन अनुमति चिलिमेलाई दिए पनि अरु आयोजनाभन्दा जटिल र महँगो पर्ने देखिएको छ । किनकि, यी दुवै आयोजनाको पूर्वाधार निर्माणमा सहजता नरहेको बताइन्छ ।

बुढीगण्डकी प्रोकको प्रशारण लाइन नै ९० किलोमिटरजति रहेको बताइन्छ । उक्त आयोजनास्थलमा पुग्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने देखिएको छ । सेती नदी तेस्रोको त प्रशारण लाइन कहाँ जोड्ने भन्ने नै टुंगो नै लागिसकेको छैन । तर, नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर रहेको चिलिमेले यसअघि पनि केही आयोजनाहरु समयमै निर्माण गरेर विश्वनियता कमाएको हुँदा यी दुई आयोजनालाई पनि अघि बढाउने गरी अध्ययन अनुमति दिइएको हो । यी दुई आयोजना निर्माण गर्न चिलिमेले फरकफरक कम्पनी बनाएर कार्य अघि बढाउने बताएको छ ।

पूर्वाधारका हिसाबले सून्य रहेको बुढीगण्डकी प्रोक र सेती नदी तेस्रोको अनुमतिपत्र चिलिमेले पाए पनि अरुण चौथो जलविद्युत आयोजना निर्माणका लागि केही वर्षअघि अनुमति माग्दा भने ऊर्जा मन्त्रालयले निर्माण अनुमति दिन अस्वीकार गरेको थियो । २ सय ६४ मेघावाट क्षमताको अरुण चौथोको आयोजनास्थलसम्म प्रशारण लाइन र सडकसमेत पुगिसकेको हुँदा निर्माण कार्य चाँडै सम्पन्न हुने भएकाले चिलिमेले मन्त्रालयसँग अनुमति मागेको थियो । तर, तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको कार्यकालमा चिलिमेले मन्त्रालयलाई पत्र लेखे पनि मन्त्रालयले सिधै अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्