अर्घाखाँचीका कांग्रेस, एमाले र माओवादी नेता एकै ठाउँ, सीमांकन फेरवदल गरे आन्दोलन गर्ने चेतावनी


८ मंसिर । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार प्रदेश नम्बर–५ को सीमांकन फेरवदलको तयारीमा जुटेको भन्दै त्यसो गरिए कडा आन्दोलन गर्ने जिल्लास्थित विभिन्न राजनीतिक दल र सरोकारवालाले चेतावनी दिएका छन ।

पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले तराई र पहाडलाई अलग गर्न नहुने उनीहरुको भनाइ छ । तराईका जिल्लाबाट गुल्मी, पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।  पाँच नम्बर प्रदेश टुक्राउन नपाइने माग गर्दै उनीहरुले आज संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले संयुक्त रुपमा सन्धिखर्कमा आयोजना गरेको ‘पाँच नम्बर प्रदेश टुक्राउन नदिने’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले सङ्घीय पुनः संरचनाको नाममा वा कुनै पनि बहानामा पाँच नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिए ।

नेकपा (एमाले)का  अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार पाँच नम्बर प्रदेशलाई टुक्राउन लागि परेको चर्चागर्दै यो प्रदेश टुक्राउन खोजे त्यसको प्रतिकार गर्ने बताए ।  माओवादी केन्द्रका जिल्ला सहसंयोजक छमकुमारी खनालले कुनै बहानमा पाँच नम्बर प्रदेश टुक्राउन नहुने बताए ।

राष्ट्रिय जनमोर्चाका नेता सागर केसीले सङ्घीयता मुलुकमा टिक्न नसक्ने बताउँदै सङ्घीयताको उपज नै अहिले मूलुक र जिल्ला टुक्राउने चलखेल भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्