अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाए हार्ट र हाल्मस्ट्रामले, पर्सी साहित्यतर्फको घोषणा हुने


२४ असोज । बेलायती मुलका अमेरिकी अर्थशास्त्री ओलिभर हार्ट र फिनल्याण्डका बेनग्ट हाल्मस्ट्रामले यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । उनीहरुले अनुबन्धको सिद्धान्तमा योगदान पु¥याए बापत सोमबार नोबेल पुरस्कार कमिटीले उनीहरुलाई चयन गरेको हो ।

सन् १९४८ मा जन्मिएका हार्ट अमेरिकाको हार्वर्ड युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक हुन् भने हाल्मस्ट्राम म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीमा अर्थशास्त्र र व्यवस्थापनका प्राध्यापक हुन् । नोबेल पुरस्कार छनोट समितिका अनुसार, पुरस्कृत दुवै अर्थशास्त्रीले अनुबन्ध सिद्धान्तको विकास गरेका थिए । हार्ट र हाल्मस्ट्रामले विकास गरेका नयाँ सैद्धान्तिक उपकरणले वास्तविक जीवनका अनुबन्ध र संस्थाहरुलाई बुझ्नुका साथै अनुबन्ध प्रारुपको सम्भावित खतराहरुको आँकलनमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

हार्ट र हाल्मस्ट्रामले संयुक्त रुपमा ९ लाख २४ हजार डलरबराबरको यो पुरस्कार पाएका हुन् । गत वर्ष यो पुरस्कार अमेरिकी–बेलायती अनुसन्धानकर्ता एंगस डेटनले पाएका थिए । उनलाई निर्धनताबारे उल्लेखनीय काम गरेबापत सो पुरस्कार दिइएको थियो ।

अहिलेसम्म चिकित्सा क्षेत्र, भौतिकशास्त्र, रसायन शास्त्र, शान्ति र अर्थशास्त्र विधाको नोबेल पुरस्कारको घोषणा भइसकेको छ । अब नोबेल पुरस्कारमध्ये साहित्य विधाको घोषणा भने बुधबार घोषणा हुँदैछ । यस पटकको साहित्यतर्फको नोबेल पुरस्कार जापानका हाराकी मुराकामी, अमेरिकी उपन्यासकार ििफलिप रोथ, नर्वेका लेखक जोन फास र सिरियाका कवि एडोनिसमध्ये एकजना दिइने प्रवल सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्