अविरल बर्षाका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित


११ साउन । एक साता देखिको अविरल बर्षाका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । देशका बिभिन्न जिल्लाहरुमा लाखौँको धनजनको क्षति भएको खवरहरु आर्इरहेका छन् ।

बाढीले एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा

सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।

म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।

रामघाटबाटै बगाएर ल्याएका छ वटा बङ्गुर पनि निकालिएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताए ।

यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ ।

सो ठाउँका वलसिंह भुजेल र आसबहादुर भुजेलको घर बगाएपछि उनीहरु नजीकको दूध पोखरी माध्यमिक विद्यालयमा बसेका छन् ।

यसरी नै पोखराको छोरेपाटनमा दुई घर डुबानमा पर्नुका साथै १२ घरमा पानी पसेको बताइएको छ ।

पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् ।

राति सुतिरहेको बेला सडकमाथिको पहिरोले घर पुरिँदा च्यापिएर ज्यान गएको स्थानीय नारायण थापाले जानकारी दिनुभयो । पहिरोले तीन घर पुरिएका छन् भने अन्य चार घर जोखिममा रहेको स्थानीयले बताएका छन् ।

बिहानैदेखि स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको पहलमा उद्धार गरिरहेको स्थानीय बासिन्दा थापाले बताए ।

तीन घर पूरै परिएकै अवस्थामा रहेका र अन्य चार घरमा पहिरोले गिट्टी, बालुवा र पानी भरिएको छ । पहिरोले सडक अवरुद्ध बनेपछि पाल्पा–बुटबल हिँड्ने सवारीसाधन समेत चल्न सकेका छैनन् ।

पहाड चिरिएर पहिरो खस्न थालेपछि चारघर विस्थापित

बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् ।

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने बाँकी २७ घर पनि जोखिममा परेका हुन् ।

स्थानीयबासी नगेन्द्र कार्की, पदम कार्की, डेगबहादुर कार्की र रन्जित पुनको परिवार अहिले पूर्णरुपमा विस्थापित बनेको छ । उनीहरु घर छाडेर माझफाँट गाविसमै पहिलेको बस्तीभन्दा अलि पर सुरक्षित स्थानमा सरेका छन् ।

उनीहरु अहिले खुला आकाशमुनि रात काट्न बाध्य भएका छन् । एक सातादेखि घर छाडेर खुल्ला आकाशमुनि बस्दा समेत कसैले राहत दिन नआएको गुनासो समेत विस्थापित परिवारको छ ।

सत्र सय घर डुबानमा, एकको मृत्यु – एक बेपत्ता

केही दिन अघिदेखिको अविरल परेको झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् ।

गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताए ।

अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको पनि उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्