अवुधावीका नेपालीलाई प्रचण्डले भने– ‘सरकार संविधान कार्यान्वयनमा लागेको छ’


२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा रहेका नेपालीहरुले बगाएको पसिनाको सदुपयोग गर्न सरकार सचेत रहेको बताएका छन् ।

दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले आवुधावीमा रहेको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बर्ताका हुन् । ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ,’ उनले भने, ‘मेरो नेतृत्वको सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको छ । हामी निरन्तर त्यसमा क्रियाशील छौं । तपार्इँहरुले यहाँ हासिल  गरेको अनुभव र पूँजी नेपालको विकासको लागि  आधारशीला हो, पूँजी हो । तपाईँहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’

उनले सबैका भावनाको कदर गर्दै राष्ट्रिय एकतामा सरकारले जोड दिएको पनि बताए ।   उनले उर्जा सम्मेलन नेपालका लागि धेरै महत्व रहेको पनि उल्लेख गरे ।  उनले राजनीतिक विवादमा अल्झिएर नेपालको विकासलाई उपेक्षा गरेको भन्दै अब त्यसो गर्नु नहुनेमा जोड दिए ।  उनले ब्लड मनी, पासपोर्टको नवीकरण शुल्क घटाउने लगायतका केही महत्वपूर्ण काम सरकारले गरिरहेको पनि जानकारी दिए ।

भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्