अष्टलक्ष्मीलाई पितृशोक, छोरीले दिइन् दागवत्ती


२६ असार । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ । उहाँका पिता तीर्थबहादुर शाक्यको आज विहान ९५ वर्षको उमेरमा निधन भएको छ ।

स्वर्गीय शाक्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । चार छोरी र तीन छोराका पिता शाक्यको पार्थिव शरीरमाथि छोरीले विद्युतीय शबदाहगृहको स्वीच अन गरेर दागवत्ती दिइन् ।

काठमाडौंको झोंछेमा जन्मिएका शाक्य छोरी अष्टलक्ष्मी शाक्य र ज्वाइँ अमृतकुमार बोहरासँग बस्दै आएका थिए । एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले वक्तव्य निकाली पार्टीले अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

यसैबीच, महासचिव ईश्वर पोखरेलले पेसा र जागिरका कारण दरबारसँग जोडिए पनि आफ्नी छोरी अष्टलक्ष्मी शाक्यले लिएको विचारप्रति सहयोगी बन्दै पार्टीलाई सहयोग गरेको भन्दै उनको सम्झना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्