असमानताको खाडल पुर्ने माध्यम सहकारीः बडाल


२९ मंसिर । पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव वडालले हुने र नहुनेबीच असमानताको खाडल भएको विश्व अर्थ व्यवस्थामा सहकारी नै सहयोगी सिद्ध हुने बताएका छन् । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष बडालले यस्तो बताएका हुन् ।

काठमाडौँबाट नजिकैका बस्तीमा पनि कर्णालीको जस्तो आर्थिक विपन्नता देखिने बताउँदै अध्यक्ष बडालले यस्तो स्थितिको अन्त्य गर्न सहकारी अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताएका थिए । कार्यक्रममा पूर्वसहकारी सचिव शङ्कर पाण्डेले सहकारीका पदाधिकारी र कर्मचारीको मेहनतले संस्थाले प्रगति गर्न सफल भएको बताउँदै सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्न सकिने बताए ।

प्रतिवेदन प्रस्तुत गर्दै सांसद तथा संस्थाका अध्यक्ष ओमदेवी मल्लले संस्थाका बचतकर्ता तथा ऋणी एवम् कर्मचारीको लगनशीलताले संस्थाले राम्रो कार्य गरिरहेको र आगामी दिनमा योजनाबद्ध रुपले घरजग्गा लगायतमा लगानी गरिने बताइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेती, राष्ट्रिय सहकारी सङ्घका सञ्चालक रवीन्द्र केसी, सुरेन्द्र भण्डारी, चन्द्रप्रसाद ढकाल, भानुभक्त ढकाल, अधिवक्ता सुरेन्द्र कोइराला, संस्थाका सचिव लोकविक्रम थापा, विपिन शर्मा आदिले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा संस्थाका कर्मचारी लेखापाल कृष्णप्रसाद अधिकारी र शान्ति श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा तथा उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्