एमालेको प्रदेश भेला स्थगन, जिल्ला भेला निर्धारित समयमै हुने


१६ असार । नेकपा (एमाले) ले यही असार १८ गते गर्ने भनेको सातवटै प्रदेशमा प्रदेश कमिटीको भेला स्थगन गरेको छ ।

बजेटका पक्षमा देशभर अभियान चलाउन एमालेले प्रदेश संगठन कमिटी गठन भए लगत्तै प्रदेश कमिटीको भेला गर्ने तयारी तीव्र बनाएको थियो । बिहीबार पार्टी मुख्यालय धुम्वाराहीमा बसेको सचिवालय बैठकले तत्काललाई बैठक स्थगन गर्ने निर्णय गरेको छ ।

‘लगातार चार–पाँच दिन संसद् बैठक अबरुद्ध भएपछि संसद्का केही कार्यसूची प्रभावित भए,’ सचिव प्रदीप ज्ञवालीले भने, ‘आजबाट संसद् बैठक सूचारु भएकाले सांसद्हरु प्रदेशमा जान नभ्याउने भएकाले १८ गते गर्ने भनिएको प्रदेश भेला तत्कालका लागि स्थगन गर्नु परेको हो ।’

ज्ञवालीले वर्षाका कारण पनि यही १८ गते पदेश भेला गर्न उपयुक्त नभएकाले बिहीबार बसेको सचिवालय बैठकले स्थगन गर्ने निर्णय गरेको जानकारी दिए । ‘पहिला पनि हामीलाई वर्षाले भेला प्रभावित गर्ला कि भन्ने लागेको थियो,’ ज्ञवालीले भने, ‘तल–तलका साथीहरुले पनि टाढा–टाढाबाट अउनु पर्ने र वर्षामा समस्या हुने भनेकाले रोक्नु पर्ने बाध्यता भयो ।’
प्रदेश कमिटी गठन भए पनि अहिलेसम्म संयोजक नतोकिएको अवस्थामा संयोजक विनै भेला आयोजना गर्दा सन्देश गलत जाने हो कि भन्ने विषयमा पनि एमाले भित्र छलफल भएको थियो । एक नेताले भेला स्थगनको एउटा कारण त्यो पनि हुन सक्ने बताए । ज्ञवालीले असारको अन्तिम हप्ता गर्ने भनेको जिल्लास्तरीय भेलाहरु भने यथावत रहेको जानकारी दिए ।

एमाले भित्र अहिले सात प्रदेशमा क–कसलाई संयोजक बनाउने भन्नेमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच कुरा मिलेको छैन ।

त्यही विवादका कारण अहिलेसम्म कुन प्रदेशमा कसलाई संयोजक बनाउने भन्ने विषय अन्योलमा परेको छ । नेपाल समूह पदाधिकारी भित्रैबाट संयोजक छान्नु पर्नेमा छ भने ओली समूहले सथायी कमिटीबाट संयोजक तोक्नु पर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्