अस्ताइन बार्बरा


barbara adamकाठमाडौ, १६ बैशाख । गत शुक्रबार निधन भएकी पत्रकार बार्बरा एडम्सको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाउनुअघि बार्बराको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न प्रज्ञा भवन कमलादीमा राखिएको थियो । श्रद्धाञ्जली दिन पुगेका पूर्वगृहमन्त्री वामदेव गौतमले बार्बराको नागरिकताको प्रतिलिपि बार्बराको शवको शिरानीमुनि राखिदिएका थिए ।

सञ्चारमन्त्री शेरधन राई, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल, पूर्ववाणिज्यमन्त्री सुनिलबहादुर थापा, बार्बराका विदेशी साथीहरू तथा पत्रकारलगायतले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

बार्बरा बेलायती महारानी एलिजाबेथ द्वितीयाको सन् १९६१ मा भएको नेपाल भ्रमणमा इटालियन अखबारको तर्फबाट रिपोर्टिङ गर्न पहिलोपल्ट आएकी थिइन् । नेपालको सौन्दर्यबाट प्रभावित भएकी ३० वर्षीया युवा पत्रकार बार्बरा त्यसपछि यतै बसिन् ।
बार्बरा पूर्वराजा ज्ञानेन्द्रका काका बसुन्धरा शाहस“गको सम्बन्धमा थिइन् । बसुन्धराबाट बार्बराले अंश माग्न सक्ने खतरा देख्दै शाही शासनकालभरि दरबारले उनलाई नेपाली नागरिकता दिनबाट रोकेको थियो ।

२०६५ मा बार्बरालाई सरकारले नेपाली नागरिकता प्रदान गरेको थियो । मुटु रोगबाट पीडित पत्रकार एडम्सको शुक्रबार साँझ राजधानीको ग्रान्डी अस्पतालमा सघन उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्