अस्ताए पत्रकार न्यौपाने


२१ कात्तिक । आर्थिक पत्रकारितामा राम्रो दख्खल राख्ने पत्रकार सञ्जय न्यौपानेको शनिबार निधन भएको छ । विगत एक वर्षदेखि मस्तिष्कको स्नायुसम्बन्धी रोगबाट पीडित न्यौपानेको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायुसम्बन्धी रोग लागेपछि न्यौपाने एक वर्षदेखि उपचाररत थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहे पनि दसैंको बेला बेहोस भएपछि भारतस्थित मेदान्त अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, मेदान्तबाट नेपाल फर्किएको केही समयपछि नै उनको दुःखद् निधन हुनपुग्यो ।

४५ वर्षिय पत्रकार न्यौपानेले कान्तिपुर दैनिकबाट पत्रकारिता करिअर सुरु गरेका थिए । पछिल्लो समय भने उनी कारोबार आर्थिक दैनिकका सम्पादक थिए । स्नायुसम्बन्धी रोगले च्यापेपछि उनले कारोबारबाट बिदा लिएका थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्वउपाध्यक्ष पनि हुन् ।

दिवंगत पत्रकार न्यौपानेको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्