अस्पतालमा शुभेच्छुकको भीड,स्वास्थ्य लाभको कामना


काठमाडौं, २१ फागुन ।  त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया भइरहेको छ । अस्पताल क्षेत्रमा भने प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुक तथा कार्यकर्ताको भीड लागेको छ ।

शुभेच्छुकहरुले प्रधानमन्त्री ओलीको तस्बिरसहितको प्लेकार्ड बोकेर शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यलाभको कामना गरिरहेका छन् । ‘प्रिय प्रधानमन्त्री चाँडै निको हुनुस्’ लगायतका सन्देश बोकेर उनीहरु अस्पताल परिसरमा उभिएका छन् ।

त्यस्तै, प्रधानमन्त्रीको स्वास्थ्यबारे बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भूमि तथा व्यवस्था मन्त्री पद्‍मा अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायत उच्च सरकारी अधिकारी तथा नेताहरु शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

त्यस्तै, आजै प्रधामन्त्रीका समकक्षी पाकिस्तानी प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ र जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएर प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथसँग प्रार्थना गरेको उल्लेख गरेका थिए।

त्यस्तै, मिर्गौला प्रत्यारोपनको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव विष्णु पौडेल, मुख्यसचिव लोकदर्शन रेग्मीलगायत व्यक्तिहरुले ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्