आइतबार बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित


वैशाख २ । नेकपा (एमाले) को आइतबारका लागि तय भएको केन्द्रीय कमिटीको आठौँ बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा विदेश रहेका कारण वैठक स्थगन भएको हो ।

स्थानीय तह निर्वाचनका लागि घोषणापत्रलाई अन्तिम रुप, आन्तरिक व्यवस्थापन र उम्मेदवार चयनबारे छलफल हुने सो बैठक केही दिनका लागि स्थगित भएको एमालेले जानकारी दिएको छ ।  ओली नियमित स्वास्थ्य परीक्षणाका लागि अहिले थाइल्याण्डमा छन् ।

एमालेले केन्द्रीयस्तरमा उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा निर्वाचन घोषणापत्र मस्यौदा समिति र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेर काम अघि बढाएको छ ।

यसअघि पार्टीको स्थायी कमिटीले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्