आईपीएलको खर्बौ पैसा यसरी आउँछ


काठमाडौं । क्रिकेटको सवैभन्दा ठूलो र आकर्षक प्रतियोगिता हो, इन्डियन प्रिमियर लिग (आईपीएल) । दर्शक र सर्वोत्कृष्ठ खेलाडीहरुको महामेलाका रुपमा मात्रै होइन, क्रिकेटरले पाउने पारिश्रमिकका कारण पनि यसको आकर्षण बढी छ ।

अव, प्रश्न उठ्छ । कहाँबाट आउँछ यतिधेरै पैसा । जसले आईपीएलकै महत्व बढाएको छ ।

सन् २००८ बाट औपचारिक रुपमा शूरु भएको आईपीएलमा प्रत्येक वर्ष एउटा फ्रेन्चाइजी टीमको करीव १ सय २० देखि १ सय ५० करोडसम्म खर्च हुन्छ । कुनैपनि टीमले खेलाडी खरीदमा ८० करोडसम्म खर्च गर्न पाउँछन् । खरीद गरेको खेलाडीले नखेलेपनि ५० प्रतिशत रकम पाउँछन् । यसबाहेक खेलाडीको ट्रेनिङ, टिम व्यावस्थापन र अपरेटिङमा खर्च हुन्छ ।

यसको आयस्रोत भने मूख्ययता तीन क्षेत्र हुन् । मार्केटिङ, लोकल रेभेन्यू र सेन्ट्रल रेभेन्यू । सबै भन्दा बढी सेन्ट्रल रेभेन्यूबाट आईपीएलले आम्दानी गर्छ । त्यसको लागि लाइभ ब्रोडकास्ट गर्ने टिभि च्यानलसँग सम्झौता गरेको हुन्छ ।

आईपीएलको पहिलो सिजनमा सोनी पिक्चर्स नेटवर्कले १० वर्षका लागि चार हजार करोडमा लाइभ गर्ने सम्झौता गरेको थियो । ११औं संस्करणबाट पाँच वर्षका लागि स्टार इन्डियाले १६ हजार तीन सय पचास करोड खर्च गरेर लाइभ गर्ने अधिकार खरीद गरेको छ । टिभिले पनि हरेक ओभर सकिदा आउने विज्ञापनमा १० सेकेन्डका लागि ५ देखि १० लाखसम्म लिन्छ ।

तेस्रो प्रायोजक हो । आईपीएलको टाइटल प्रायोजकले सुरुमा डीएलएफ, पेप्शी थिए । अहिले भीभो कम्पनीले २०१८ देखि २०२२ सम्मलाई दुई हजार १ सय ९९ करोडमा टाइटल प्रायोजकको अधिकार खरीद गरेको छ । यसबाहेक मैदानमा प्रदर्शन हुने ब्याट, टीसर्ट, हेल्मेट, बाउन्डरी रोपमा देखिएको विज्ञापनबाट पनि टीमलाई आर्थिक लाभ हुन्छ । लोकल प्रायोजक र टिकट बिक्रीबाट पनि आम्दानी हुन्छ ।

टिकटबाट आएको पैसा ८० प्रतिशत टिम र २० प्रतिशत मालिकलाई बाड्ने नियम छ । आईपीएलले ४० करोडको पुरस्कार राशी राखेको छ । उपाधी विजेतालाई १५ करोड, उपविजेतालाई १० करोड र तेस्रो तथा चौथो हुने टीमले साढे सात करोड पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्