आचारसंहिता व्यापक रुपमा उल्लंघन, निर्वाचन आयोग मौन


१ असोज । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले सरकारले आचारसंहिता उल्लंघन नगरेको दाबी गरे पनि सोही पार्टीबाट गृहमन्त्री बनेका जनार्दन शर्माले भने पछिल्लो समय आचारसंहिता उल्लंघनमा रेकर्ड नै कायम राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता लागू भएपछि मन्त्रिमण्डल विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको घटना सेलाउन नपाउँदै गृहमन्त्री शर्माले पुरानो मिति राखेर प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेपछि आचारसंहिता उल्लंघनका घटना बढेका हुन् ।

आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचन मिति घोषणा भएसँगै निर्वाचन आयोगले भदौ १४ गतेदेखि लागू हुनेगरी आचारसंहिता जारी गरेको हो । आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिँदै आचारसंहिता पालनामा कडाइ गर्न भनिसकेको छ । तर, सरकारले भने आयोगको निर्देशनको बेवास्ता गर्दै आचारसंहिता उल्लंघन गर्न सक्रियता देखाइरहेको छ ।

भदौ १४ गतेदेखि आचारसंहिता लागू भए पनि गृहमन्त्री शर्माले भने त्यसअघिका मिति राखेर ६० जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेका छन् । गृहमन्त्री शर्माले साउन २६ र भदौ ८ को मिति राखेर आचारसंहिता लागू भइसकेपछि प्रजिअहरुको सरुवा गरेका हुन् । कुनै जिल्लामा त अवधि नसकिँदै प्रजिअहरुको सरुवा गरेका छन् ।

गृहमन्त्री शर्माले आचारसंहिता विपरीत प्रजिअहरुको सरुवा गर्नमा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफू अनुकूल गृह प्रशासन चलाउने नियत लुकेको देखिएको छ । ती दुवै निर्वाचनलाई प्रभावित पार्न गृहमन्त्री शर्माले करिब पाँच दर्जन प्रजिअहरुको सरुवा गरेको बताइएको छ । सरुवा भएका प्रजिअहरुमा अधिकांश माओवादी केन्द्रसँग निकट रहेकाहरु छन् । माओवादी केन्द्रका नेताहरुको सिफारिसका आधार एवं आफ्ना निकटस्थहरुलाई गृहमन्त्री शर्माले प्रजिअ बनाएर जिल्लाहरुमा पठाएको बताइन्छ ।

गृहमन्त्री शर्माले पुरानो मिति राखेर निर्वाचन आचारसंहिता लागू भइसकेपछि व्यापक रुपमा प्रजिअहरुको सरुवा गरे पनि निर्वाचन आयोगले भने त्यसबारे अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । निर्वाचन आयोगको मौनताले गृहमन्त्रीको कदमलाई सही ठह¥याएको देखिएको छ । आयोगले सरकारलाई दिएको ७ बुँदे निर्देशन उल्लंघनमा पटकपटक सरकारका मन्त्रीहरुद्वारा उल्लंघन भए पनि त्यसलाई कडाइ गर्नेतिर आयोगले तत्परता देखाइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्