आजको बन्दले जनजीवन प्रभावित, एउटा बोलेरोमा आगजनी


२८ कात्तिक । दुई वर्षअघि मोहन वैद्य समूहबाट टुक्रिएर गएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले खाद्य सुरक्षाको माग गर्दै आइतबार आव्हान गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । बन्दको असर राजधानीलगायत देशका अरु भूभागहरुमा समेत देखिएको छ भने बन्दकर्ताले दुई वटा बोलेरो जिपमा आगजनीसमेत गरेका छन् ।

चन्द समूहको बन्दका कारण काठमाडौँमा सार्वजनिक यातायातहरु कमै मात्रामा चलेका छन् भने निजी नम्बर प्लेटका सवारी साधनचाहिँ बढी चलेका छन् । बन्दले काठमाडौं उपत्यकाका विद्यालय, क्याम्पस, पसलहरु बन्द छन् । तर, सडकमा बन्दकर्ताहरुको भने खासै उपस्थिति देखिएको छैन । त्रास र आतंकको कारण बन्द भएको देखिन्छ ।

यसैबीच, बन्द गराउँदै हिँड्ने ७६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरु कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट पक्राउ परेका हुन् ।

साथै, बन्दकर्ताहरुले सिन्धुलीमा एउटा बोलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बोलेरोमा बन्दकर्ताले आगजनी गर्दा बोलेरो पुर्णरुपमा जलेको सिन्धुली प्रहरीले जनाएको छ । आधा दर्जनजति बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए ।

आगजनी भएको बोलेरोमा कुनै पनि यात्रु नरहेको हुँदा मानवीय क्षति भने हुन पाएन । बन्दकर्ताले बोलेरो चालक रामचन्द्र महतोलाई बाहिर निकालेर आगजनी गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्