आज अर्घाखाँचीमा सबै दलका नेताले सम्बोधन गर्ने, आमहड्तालले झापाको जनजीवन प्रभावित


३० मंसिर । ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी सरकारले ल्याएको संविधान संशोधनको विरोधमा अर्घाखाँचीको सन्धिखर्कमा बिहीबार दिउँसो विरोध सभा हुने भएको छ । ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएर संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा विरोधसभा हुन थालेको हो । विरोध सभालाई सबै दलका केन्द्रीय नेताले सम्बोधन गर्ने भएका छन् ।

नेकपा (एमाले)का नेता दलबहादुर राना, नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, नेता रेवतीप्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताएका छन् ।

विरोधसभा हुनुअघि जुलुस प्रदर्शन सन्धिखर्कको टुँडिखेलबाट सुरु भई शान्ति बगैँचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुन टुँडिखेलमा गई विशाल विरोधसभामा परिणत हुने बताइएको छ ।

त्यसरी नै, बिहीबारदेखि नै अनिश्चितकालीन अर्घाखाँची बन्द भएको छ । बन्दका करण जिल्लाका सम्पूर्ण कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बन्दमा शिक्षण संस्था भने खुल्न दिने भएको छ ।

यसैगरी, संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालले बिहीबार गरेको आमहडतालबाट झापाको जनजीवन प्रभावित बनेको छ । आमहडतालका कारण जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।

आमहडताललाई शान्तिपूर्ण र मर्यादित बनाउने भनिएको सो पार्टीले हडतालका समयमा मोटरसाइकल, दूध, सब्जी, प्रेस, चिकित्सक, औषधि, विवाह, मलामी, सववाहन, एम्बुलेन्सजस्ता अत्यावश्यकीय सवारी साधन तथा सेवालाई निर्वाध सञ्चालन गर्न अनुमति दिएका छन् ।

त्यस्तै, शिक्षण संस्थालाई बन्दमुक्त राख्ने तथा परीक्षाको अवधिलाई सहज बनाउने विषयमा नागरिक समाज र अधिकारकर्मीले गरेको आग्रहलाई सकारात्मक रुपमा ग्रहण गरेको सो पार्टीले जनाएको छ । प्रदेश नं ५ लाई टुक्र्याउने भएपछि झापा, मोरङ सुनसरीलाई टुक्र्याउने षडयन्त्र भइरहेको भन्दै त्यसमा यस क्षेत्रका नागरिक सचेत हुनुपर्ने आन्दोलनरत पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्