आज पनि संसद् अवरुद्ध, लोकमानसिंहविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल प्रभावित


१३ पुस । व्यवस्थापिका–संसद्को आजको बैठकमा सदनको आजको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले नेपालको संविधानको दोस्रो संशोधन २०७३ प्रस्तुत गर्ने विषय परेको थियो ।

त्योसँगै अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीउपर महेन्द्रबहादुर शाहीसहित १ सय ५७ जनाले दर्ता गरेको महाभियोगको प्रस्ताव माथिको छलफल जारी राख्ने पनि  आजको कार्यसूचीमा समावेश थियो ।

त्यसैगरी आजकै बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक २०७३ र निर्वाचन कसुर तथा सजय विधेयक २०७३ सदन समक्ष प्रस्तुत गर्ने कार्यसूची थियो ।

यी तीन कार्यसूची भए पनि नेकपा (एमाले) लगायतका प्रतिपक्ष दलको अवरोधका कारण कुनै पनि विषयले संसद्मा प्रवेश पाएनन् । सरकारले दर्ता गरेको संविधान संशोधनको  प्रस्ताव फिर्ता नलिएरसम्म निरन्तर व्यवस्थापिका–संसद् अवरुद्ध गर्ने अडानमा रहेका एमालेसहितका नौ दलले बुधबार पनि संसदे अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्ती मगरले पुस १४ गते बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगन गरिन् ।

घर्तीले अपराह्न ३ बजेका लागि निर्धारित बैठक प्रारम्भ भएको घोषणा गर्न साथ प्रमुख प्रतिपक्षसहितका दलका सांसद्ले आआफ्नो ठाउँबाट उठेर विरोध  जनाएका थिए । विरोधसँगै सभामुख ओनसरी घर्तीले नेपाल परिवार दलका सांसद एकनाथ ढकाललाई बोल्न समय दिइन् । उनले संशोधन प्रस्ताव राष्ट्रियता र अखण्डताको पक्षमा नरहेको भन्दै फिर्ता लिन सरकारसंग आग्रह गरे ।

ढकाल बोलेपछि घर्तीले कार्यसूचीलाई अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गरिन् ।  तर उनको भनाइप्रति वेवास्था गर्दै प्रमुख प्रतिपक्षले झन्डै ६ मिनेट उभिएर विरोध जनाए ।

प्रतिक्रिया दिनुहोस्