आज पनि संसद स्थगित


३० मंसिर । संविधान संशोधनका विषयमा प्रमुख दलहरुका बीचमा कुराकानी मिल्न नसक्दा व्यवस्थापिका–संसद्को बिहीबारको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधनसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले सो प्रस्ताव फिर्ता नलिएसम्म संसद् अवरुद्ध गरिरहने जनाएको छ ।

बिहीबारको सदनको बैठक विशेष कारण जनाउँदै आगामी पुस ४ गते सोमबार दिनको १ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा जनाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

मङ्सिर १६, १७, १९, २२ र २४ गतेका संसद् बैठक पनि प्रमुख प्रतिपक्षी दलद्वारा अवरुद्ध भएको थियो । सत्तारुढ दलले तराई मधेस दलका माग सम्बोधन गर्न संसद् सचिवालयमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने तर संशोधनका विषयमा हेरफेर गर्न सकिने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्