आज प्रदेश नम्बर ५ का सबै जिल्ला बन्द


२० मंसिर । विगत ६ दिनदेखि आन्दोलनमा उत्रिएका प्रदेश नम्बर ५ का जनता झनै आन्दोलित बन्न पुगेका छन् । सरकारले संविधान संशोधन गरेर ५ नम्बर प्रदेशबाट पहाड र मधेस अलग्याउन खोजेपछि आन्दोलनमा उत्रिएका जनताले केही दिनअघि बुटवलमा विशाल प्रदर्शनसमेत गरेका थिए । तर, अब भने आन्दोलनको लहर सो प्रदेशका १२ वटै जिल्लासम्म फैलिएको छ ।

सो प्रदेशका जनताले स्वतस्फूर्त रुपमा आन्दोलन गरिरहेका छन् । सोही क्रममा सोमबार भने १२ वटै जिल्ला बन्दको आव्हान गरिएको हुँदा अहिले तराईबाट अलग्याउन खोजिएको पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुमका साथै तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया पूर्ण रुपमा बन्द रहेका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएअनुसार, ५ नम्बर प्रदेशका सबै जिल्ला आन्दोलनकारीहरुले बन्द गराएका छन् ।

सोमबार नै रोल्पाको सदरमुकाम लिवाङमा विशाल जनप्रदर्शन गर्ने तयारी भइरहेको छ । साथै, भोलि रोल्पाकै होलेरी र जुगारमा समेत प्रदर्शन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्