आज युवा दिवस विश्वभर मनाइँदै


काठमाडौ, २७ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ अगष्ट १२ तारिखमा १९ औँ युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो । नेपालको सन्दर्भमा हरेक वर्ष करीब पाँच लाख युवा श्रम बजारमा आउने गर्छन । वैदेशिक रोजगारीमा जाने युवाले कठिन र जोखिमपूर्ण काम गर्नुपरेको छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । अहिले नेपालमा युवाको जनसङ्ख्या सबैभन्दा बढी ४० दशमलव ३५ प्रतिशत छ । तर नेपालले युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्