आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै


काठमाडौं, ११ वैशाख ।  आज वैशाख ११ गते, लोकतन्त्र दिवस । २०६२/०६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम समेत आयोजना गरिँदैछ । नेपाली जनताको ठूलो त्याग तथा बलिदानबाट नेपालमा लोकतन्त्र बहाल भएको थियो । संसदवादी दलहरुले अगाडि बढाएको आन्दोलन र सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे सहमतिपछि १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको दिन अर्थात प्रत्यक्ष शासन संचालन गर्दै आएको निरंकुश राजतन्त्रले घुँडा टेकेको दिन हो लोकतन्त्र दिवस । २०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो । संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्