आज समानुपातिकको बन्दसूचि बुझाइँदै


२९ असोज । राजनीतिक दलहरुले आज समानुपातिक उम्मेदवारहरुको बन्द सूचि बुझाउँदै छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ आज उम्मेदवारहरुको बन्दसूचि बुझाउनु पर्ने छ । बन्दसूचि बुझाउँदा दलहरुले ५० प्रतिशत महिला समावेश गर्नुपर्ने छ ।

समानुपातिकको बन्दसूचि बुझाउन राजनीतिक दलहरुलाई सहज होस् भनेर निर्वाचन आयोगले सात प्रदेशको बेग्लाबेग्लै स्थान निर्धारण गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ १ सय १० र प्रदेशसभाको समानुपातिकतर्फ २ सय २० उम्मेदवारको लागि बन्दसूचि बुझाउनका लागि राजनीतिक दलहरु केही दिनयता आन्तरिक गृहकार्यमा जुटेका थिए । नेकपा एमाले, नेपाली कांग्रेसजस्ता ठूला दलमा आकांक्षीहरु धेरै देखिएपछि ती दलहरुलाई उम्मेदवार छनोट गर्न सकस परेको बताइन्छ ।

नेपाली कांग्रेसमा विभिन्न जिल्ला र जनवर्गीय संगठनहरुबाट ३ हजारभन्दा बढीको सिफारिस आएपछि समानुपातिक उम्मेदवार छान्न हम्मेहम्मे परेको बताइन्छ । त्यस्तै, एमालेमा पनि अत्यधिक सिफारिस आएपछि उम्मेदवार टुंग्याउन सकस परेको थियो ।

प्रतिक्रिया दिनुहोस्