आठ दलले भने, ‘संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद् अवरुद्ध’


२८ मंसिर । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले व्यवस्थापिका– संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म नेकपा (एमाले) सहितका विपक्षी दलले संसद अवरुद्ध पार्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

मंगलबार एमाले संसदीय दलको कार्यालयमा बसेको ती दलको बैठकले यस्तो निर्णय गरेको हो । ‘संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको छ,’ एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पहिलो न्युज डटकमसँग भने, ‘सरकारले चुनावको मिति घोषणा गरी चुनावको वातावरण बनाए हाम्रो  सकारात्मक सहयोग रहन्छ ।’

बैठकमा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी, नेपाल परिवार दल, मधेसी समता पार्टी र नेपाः पार्टीको सहभागिता रहेको थियो । संसद्मा यी सबै दलको २ सय मत रहेको छ । संशोधन प्रस्तावको विरोधमा यी दल एक जुट हुने हो भने पनि सरकारलाई दुईतिहाइ पु¥याउन मुस्किल पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्