आदिवासी जनजाति महासंघको अध्यक्षमा पृथ्वी सुब्बा र महासचिवमा परशुमेघी गुरुङ चयन


२९ कात्तिक । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पृथ्वी सुब्बा गुरुङ चयन भएका छन् । नेकपा (एमाले) को भातृ सङ्गठनको रुपमा रहेको महासंघको प्रथम राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । महाधिवेशनको उद्घाटन गएको शनिबार भएको थियो ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ चयन भएका छन् भने उपाध्यक्षहरुमा तीलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपासुर शेर्पा, भद्रबहादुर थापा, शान्ता चौधरी र चित्रबहादुर थापामगर चयन भएका छन् ।

महासचिवमा भने परशुमेघी गुरुङ चयन भएका छन् । उपमहासचिवद्वयमा टासी लामा र विजय लोप्चन चयन भएका छन् । यसैगरी सचिवहरुमा क्रमशः रामचन्द्र बल, पीके राई, शारदा कुमाल र देवराज राई चयन भएका छन् । कोषाध्यक्षमा भने राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चयन भएका छन् । सदस्यहरुको परिणाम भने आउन बाँकी नै रहेको छ ।

यसअघि नेतृत्व चयनमा कुरा नमिलेपछि सम्मेलन सोमबारसम्म लम्बिएको थियो । अध्यक्षका लागि पार्टीका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङ र पोलिट्ब्युरो सदस्य शेरबहादुर तामाङले दाबी गरे पनि अन्तिममा भने तीनै जनाले सहमति गरेको बताइन्छ । यसअघि नेतृत्व चयन सर्वसम्मत रुपमा गर्ने भएकाले केही ढिलाइ भएको कुरा नवनिर्वाचित अध्यक्ष गुरुङले बताएका थिए ।

यसअघि महासंघको ६७ सदस्यीय कार्यसमितिका लागि १ सय ५० जनाको उम्मेदवारी परेको थियो । तर, पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्