आधा खाल्डा पुरिसक्यौ, आधा समयमै पुरिसक्छौंः सचिव उपाध्याय


८ साउन । १५ दिनभित्र काठमाडौं उपत्यकाभित्रका खाल्डाहरु पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका निर्देशन समयमै पूरा नहुने हो कि भन्ने आशंका व्याप्त भइरहेकै बेला खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने समयमै खाल्डा पुरिसक्ने बताएका छन् । सचिव उपाध्यायले भने, ‘हामीले आधाजति खाल्डा पुरिसकेका छौं । अब बाँकी खाल्डा तोकिएको समयभित्रै पुरिसक्छौं ।’

एक साताअघि सडकमा बगेको पानीले बगाएर गोंगवुमा एक जना बालिकाको खाल्डामा खसेर मृत्यु भएपछि प्रधानमन्त्री देउवाले तीन मन्त्रालयका सचिवलाई बोलाएर १५ दिनभित्र खाल्डा पुर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले सचिव उपाध्याय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई बोलाएर त्यस्तो निर्देशन दिएका थिए ।

सचिव उपाध्यायले अहिले तीन वटै मन्त्रालयका सचिवहरुबीच समन्वय भएर खाल्डा पुर्ने काम तीव्र गतिमा भइरहेको बताए । उनले भने, प्रधानमन्त्रीले निर्देशन दिनुभएपछि हामीले कामको बाँडफाँड ग¥यौं । खासगरी, हामीले मेलम्ची आयोजनाका लागि उपत्यकामा पाइप बिछ्याउन खनेका थियौं, त्यसबाट बनेका खाल्डाहरुमा चावहिल र जमलको पुर्ने काम गरिसकेका छौं । अब अरु खाल्डाहरु पनि १५ दिनभित्रै पुर्छौं ।’

वर्षाद्का कारण खाल्डा भएका सडकको पीच गर्न गाह्रो हुने बताउँदै सचिव उपाध्यायले भने, ‘हामीले खाल्डाखुल्टी भएका सडकहरुमा ग्राभेल गरेर पुर्ने काम गरिरहेका छौं । दिउँसो काठमाडौंका सडकहरुमा अत्यधिक चाप हुने भएको हुँदा हामीले रातिको समयमा काम गरेरै खाल्डाहरु पुरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्