आनन्द बजारको नाम ‘गोविन्द बजार’ राख्ने तयारी


२९ फागुन । नेपाल–भारत सीमा विवादमा भारतीय सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका कञ्चनपुर, पुनर्वास नगरपालिकाका बासिन्दा गोविन्द गौतमको स्मृतिमा आनन्द बजारको नाम गोविन्द बजार राख्ने पहल भइरहेको छ । आफ्नो मातृभूमिको रक्षार्थ जागेका गौतमको सीमा सुरक्षामा खटिएका भारतीय प्रहरीले गोली हान्दा गएको बिहीबार निधन भएको थियो ।

स्थानीयबासीहरुले भने पुनर्वास नगरपालिकाको नाम बदलेर सहिद गोविन्द गौतमको नाममा गोविन्द नगरपालिका राख्नुपर्ने कुरा उठाइरहेका छन् । तर, नगरपालिकाको नाम नै सहिद गोविन्दको नाममा नराखे पनि आनन्द बजारको नाम भने परिवर्तन गरेर गोविन्दको नाममा राख्ने तयारी भइरहेको राजनीतिक दलका नेताहरुले बताएका छन् ।

सीमा नजिकै कल्भर्ट बनाएको विवादमा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा गौतमको निधन भएपछि सरकारले उनलाई सहिद घोषणा गर्नुका साथै आइतबार राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिँदैछ । सहिद गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिने निर्णय भएको छ । साथै, सीमा सुरक्षाका निम्ति लडेका सहिद गौतमको परिवारलाई १० लाख रुपियाँ दिनुका साथै सहिद गौतमको छोराछोरीको भरणपोषण र शैक्षिक खर्च सरकारले बेहोर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्