आन्दोलनमा उत्रिएका चिकित्सक विरुद्ध सरकार कडा रुपमा प्रस्तुत


काठमाडौ, १८ भदौ । आन्दोलनमा उत्रिएका चिकित्सकहरुविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको छ । भदौ १ गतेबाट लागु भएको मुलुकी अपराध संहितामा व्यवस्था गरिएका चिकित्सकीय प्रावधान संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएपछि सरकार कडा रुपमा प्रस्तुत भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गरी सेवा ठप्प पारेर आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यकीय सेवा ऐनको दफा ४ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । ऐनको दफा ४ मा कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा हड्तालमा सहभागी हुनेलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । सोहीअनुसार डाक्टर तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको हो ।

चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन समेत मन्त्रालयले आग्रह गरेको छ ।
नयाँ मुलुकी एेनमा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको खण्डमा डाक्टरहरुले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ जसको संशोधनको माग गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई आन्दोलित छन् ।
भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै ६ हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्