आफूलाई भेट्न आएका प्रचण्डलाई माधव नेपालले भने, ‘हतार गरेर गल्ती गर्नुभयो, पछि पछुताउनुहुन्छ’


४ साउन । संसद्मा अविश्वास प्रस्ताव पेस गरे पनि प्रक्रियाका बारेमा अन्योल रहेका कारण बेचैन देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले बाहिरबाट हेर्दा कांग्रेससँग मिलेकाले सहजै बहुमत पुग्ने देखिए पनि भित्रभित्रै आफूलाई डर लागिरहेको बताएका छन् । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न आइतबार विहान बानेश्वर पुगेका दाहालले उक्त कुरा बताएका हुन् ।

उक्त भेटका अवसरमा बरिष्ठ नेता नेपालले विशिष्ट परिस्थितिमा बनेको वामपन्थी गठबन्धन टुटाएर दाहालले गल्ती गरेको बताएका थिए । उनको भनाइ थियो, ‘हाम्रा तर्फबाट पनि केही कमजोरी भएका छन्, तपाईंलाई समयमै सम्झाउन सकिएन होला, अहंकारले काम गर्यो होला । तर, गम्भीरतापूर्वक कुरा नै नगरेर तपाईंले जुन हतार गर्नुभयो, यसबाट तपाईंं, तपाईंको पार्टी, कम्युनिस्ट आन्दोलन र देश कसैलाई पनि फाइदा हुँदैन । यसको परिणाम पछि थाहा पाउनुहुनेछ ।’

अध्यक्ष दाहालले आफू अब अघि बढिसकेको भन्दै त्यसबाट फर्किने ठाउँ नभएको उल्लेख गरेका थिए । उनको भनाइ थियो, ‘मलाई केपी ओलीको व्यवहारले पिन्च गर्यो, मैले समर्थन गरेँ, उहाँले देवत्व प्राप्त गरे जस्तो ठान्नुभयो । मलाई अपमान फिल भयो र म यो निर्णयमा पुगेँ ।’

लाजिम्पाटबाट गलत प्रचार

दुई नेताबीच भएको उक्त भेटका बारेमा दाहाल निवास लाजिम्पाटबाट गलत समाचार सम्प्रेषण भएको छ । तीन दिनदेखि दाहालले नेपाललाई भेट्न चाहेका थिए । र, उनी आइतबार विहान नेपाललाई भेट्न बानेश्वरस्थित अर्याल होटल पुगेका थिए । तर, लाजिम्पाटबाट त्यसविपरीत नेपाल चाहिँ दाहाललाई भेट्न लाजिम्पाट गएको समाचार प्रबाह भएपछि बरिष्ठ नेता नेपालले आपत्ति जनाएका छन् ।

बरिष्ठ नेता नेपाललले सोमबार अन्नपूर्ण पोस्ट दैनिकमा उक्त समाचार देख्नासाथ दाहाललाई फोन गरी आपत्ति जनाएका थिए । उनको भनाइ थियो, ‘मैले भन्दै नभनेको कुराहरु त्यहाँ उद्यृत गरिएको छ । हाम्रो पार्टीभित्र समस्या ल्याउने र खेल्ने काम गर्ने कोसिस नगर्नूस् । यसबाट राम्रो हुँदैन ।’

प्रत्युत्तरमा दाहालले समाचारका लाइन पढेर सुनाउँदै आफूले त्यस्तो भन्दै नभनेको, अन्नपूर्ण पोस्टमा रेवती सापकोटाले पहिले पनि आफूलाई अप्ठेरो पर्ने गरी समाचार लेख्ने गरेको र त्यस कुराको बैठकमा खण्डन गर्ने बताएका थिए । उनको भनाइ थियो, ‘हाम्रो अग्नि सापकोटाजी पनि मन्त्रीबाट हट्नुपरेकोमा खुसी हुनुहुन्न । रेवती उहाँकै नातेदार हो । त्यही प्रभाव पनि हुन सक्छ ।’

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचारमा नेपालले एमाले अध्यक्ष ओलीलाई ‘महाराज’ भनेको भन्दै समाचार छापिएको छ । दाहालले हेडक्वाटरको बैठकमा राखेको भन्दै त्यहाँ उल्लिखित कुराहरु कपोलकल्पित रहेको भन्दै त्यसको खण्डन गरिएको बरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्