आफूसँग २५ हजार कार्यकर्ता रहेको गच्छदारको दाबी, छानबिन गर्दै कांग्रेस


काठमाडौं, १४ असार । कांग्रेसले गत संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो । पार्टी एकतापछि गच्छदारसँग आएकामध्ये कसैले पनि निर्वाचनमा जित हात पारेनन् । उनीसँगै आएका जितेन्द्र देव भने राष्ट्रिय सभा सदस्य निर्वाचित भए । तर, गच्छदारलाई भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन् । उनीसँगै आएका रामजनम चौधरीलगायत दर्जनौँ अहिले भूमिकाविहीन अवस्थामा छन् ।

पार्टी एकताका बेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो । कांग्रेसले अहिले समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ । यो सूचीको नामावली सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानबिन सक्न उपसभापति एवं समायोजन समितिमा संयोजक विमलेन्द्र निधिको समितिले शुक्रबार निर्देशन दिएको हो ।

किन गर्दै छ कांग्रेसले गच्छदारका क्रियाशील सदस्यको छानबिन ?
उपसभापति विजयकुमार गच्छदारले गत २५ चैतमा तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट २५ हजार चार सय ६८ जना क्रियाशील सदस्य रहेको दाबी गरेका थिए । संस्थापननिकटकै एक नेताले गच्छदारले प्रस्तुत गरेका २५ हजार सदस्यमा गुटगत रूपमा नाम प्रवेश गराएको गुनासो आएपछि छानबिनको प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘विजय गच्छदारजीले २५ हजार सदस्यको नाम दिनुभएको थियो । यसमा गुनासो नहोस्, गुटगत प्रभाव नदेखियोस् भनेर नामबारे छानबिन गर्न खोजेका हौँ,’ देउवानिकटका तीन नेताले भने, ‘संस्थापनदेखि अरू गुटका नेताहरूमा पनि गुटगत रूपमा नाम घुसाए भन्न थालिएपछि छानबिन गर्न लागेका हौँ ।’

छानबिनका क्रममा कांग्रेसबाट निकालिएका मान्छे नपरून्, लोकतान्त्रिक फोरमका जो हुन् ती मात्र सदस्य कायम हुन् भनेर खोजिने ती नेता बताउँछन् । यसरी झन्डै ५१ जिल्लामा सदस्यताको छानबिन गर्ने गरी समितिले सर्कुलर गरेको छ । १४औँ महाधिवेशन नजिक आउँदै गर्दा गच्छदारले यसरी माग गरेका क्रियाशील सदस्य आफ्नो गुटमा पार्ने भन्ने स्वार्थ पनि नेताहरूमा देखिन्छ । नेता गच्छदार संस्थापन देउवानिकट देखिए पनि उनी पार्टीमा समझदारी गर्ने नेताका रूपमा स्थापित हुन खोजिरहेका छन् ।

यस्तो हुनेछ छानबिन समिति
जिल्लास्तरीय छानबिन समितिमा कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साबिक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहनेछन् । तत्कालीन फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारबाट तोकिएका प्रतिनिधि सदस्य रहनेछन् । बैठकको अध्यक्षता कांग्रेस जिल्ला सभापतिले गर्नेछन् । समायोजन सम्बन्धमा हालसम्म भए–गरिएका कार्यप्रगतिको प्रतिवेदन २२ असारमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने घोषणा कांग्रेसले गरेको छ ।

अहिलेसम्म उपसभापति मात्रै
निर्वाचनअघि नै कांग्रेससँग एकीकरण भएको पनि एक वर्षपछि विजय गच्छदारलाई उपसभापति बनाइएको थियो । तर, उनीबाहेक अरू केन्द्रीय सदस्य, जिल्ला, क्षेत्रसहितका संरचनामा तत्कालीन फोरमका नेता–कार्यकर्ताले प्रवेश पाएका छैनन् । जितेन्द्र देव, रामजनम चौधरीसहितका प्रभावशाली नेतालाई पनि अझै भूमिका दिइएको छैन । कांग्रेस उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधि अब उपसभापतिबाहेक केन्द्रीय समिति, पार्टीका अरू संरचना, जिल्लादेखि भ्रातृसंस्थामा पनि तत्कालीन फोरमका नेता–कार्यकर्तालाई प्रवेश गराउने बताउँछन् । सदस्यताको विषय टुंगिएपछि यो काम अघि बढ्ने उनले बताए ।

नाम अद्यावधिक, संगठन समायोजनको काम अघि बढाउँदै कांग्रेस
कांग्रेसले गत वर्षको २८ मंसिरदेखि ८ पुससम्म काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा तत्कालीन लोकतान्त्रिक फोरमबाट सहभागी भएका दुई सयजना महासमिति सदस्यहरूको नामावली अद्यावधिक गर्न जिल्लालाई निर्देश गरेको छ । नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधिक गर्न सम्बन्धित जिल्ला कार्यसमितिलाई बैठकले निर्देश गरेको हो ।

गच्छदारको त्यो तीन घन्टा लामो भाषण
केन्द्रीय समिति बैठकमा गच्छदारले २००७ देखि ०७० सालसम्म भएका राजनीतिक घटनाक्रमकै बारेमा धेरै समय खर्चिएका थिए । जुन अहिले पनि चर्चामा छ । उनले ०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार ढालेर गल्ती भएको विषय राखेका थिए । आफू अर्कै पार्टीमा भए पनि त्यसवेला सुशील कोइरालाई प्रधानमन्त्रीमा नलड्न भनेको, रुक्मांगद कटवाललाई सेनापतिबाट हटाउन खोज्दा ‘अब्जेक्सन’ गरेको, कांग्रेसमै हुँदा र बाहिर हुँदा पनि प्रजातन्त्रका लागि लडेकोसहितका विषय राखेका थिए ।

गच्छदारले आफ्नो राजनीतिक इतिहास कांग्रेसमै फर्केर आउनुको पछाडि प्रजातान्त्रिक र पुरानो पार्टीप्रतिको विश्वाससहितका कारण दिएका थिए । युवाहरूलाई निर्धक्क भएर पार्टीका फोरममै कुरा राख्न भन्दै उनले भनेका थिए, ‘बाहिर होइन, पार्टी सुधारका लागि नेताहरूका अगाडि निर्धक्क भएर कुरा राख्नु छ । तपाईंहरूले कुरा राख्दा म राख्छु । गिरिजासँग म कुरा राख्थेँ । प्रधानमन्त्री हुँदा किसुनजीलाई हटाउनुहुँदैन भनेर कुरा राख्ने मै हुँ ।’

आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्