आफ्नै घर फर्किँदा खुसी छन् भट्टराई


३० फागुन । कवि–हृदयका रामचन्द्र भट्टराईमा क्रान्तिका हजारौं स्वप्नहरु तैरिइरहेका हुन्थे । देशका ‘क्रान्ति’ गर्ने शक्ति नभएको देखेर उनीभित्र सदैव छट्पटी उत्पन्न भइरहन्थ्यो । तर, करिब नौ वर्षअघि तत्कालीन नेकपा (माओवादी) को चमकदमकले उनलाई पूरै लठ्यायो । र, क्रान्ति गर्ने शक्ति खोज्दै हिँड्ने क्रममा फेला पारेको माओवादीलाई रुचाए ।

२०६४ सालको संविधानसभाको निर्वाचन हुनुभन्दा १२ दिनअघि मात्रै माओवादी नेताका हातबाट रातो टीका लगाएर प्रवेश गरेका थिए, भट्टराईले । वर्षौंदेखि कायम एमालेसँग पारपाचुके गरेर माओवादी बनेका भट्टराईमा दस वर्षे जनयुद्ध लडेर आएको शक्तिले क्रान्ति गर्ने भ्रम हट्न नौ वर्ष लाग्यो । नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानको क्रममा हिजो भैरहवामा आयोजित सभामा सेतै दाह्री–जुँगा फुलाइसकेका भट्टराईको मन फेरि एमालेमै फर्किएको छ । ‘घुमिफिरी बांगेसाल’ भनेझै फेरि एमाले नै रोजेका ७५ वर्षिय भट्टराईले भने, ‘अब म आफ्नो बाँकी जीवन एमालेप्रति नै समर्पित गर्नेछु ।’

‘आफैले बनाएको घरमा फर्किएँ ।’ खुसी हुँदै भट्टराईले भने, ‘माओवादीमा म जुन सपना देखेर गएको थिएँ, ती सबै चकनाचुर भयो । माओवादीमा गएपछि त म छाँगोबाट खसेझंै भएँ ।’ उनले आफू माओवादीको बलिदानी गाथालाई सम्झेर नौ वर्षअघि चुनावको मुखमा माओवादी प्रवेश गरेको उल्लेख गर्दै भने, ‘फेरि चुनावकै मुखमा एमालेलाई बनाउन फर्किएको छु ।’ विगतमा माओवादीमा प्रवेश गर्दा आफूले एमालेप्रति कृतज्ञता व्यक्त गरेको पनि सम्झिन भ्याएँ उनले, ‘माओवादीमा छँदा पनि मैले एमालेलाई गाली गरिनँ । एमालेमा छँदा मलाई जुन जिम्मेवारी दिइएको थियो, त्यसप्रति म सदैव कृतज्ञ नै रहेँ ।’

पुष्पलालको प्रभावले कम्युनिष्ट आन्दोलनमा होमिएका भट्टराई ०५६ देखि ०६२ सालसम्म राष्ट्रिय सभाका सदस्य भएका थिए । ०६४ सालमा माओवादीमा उर्लिएको लहर देखेर सोही पार्टीमा प्रवेश गरेका भट्टराई पछिल्लो समय भने डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, नेपालमा रहेका थिए ।

माओवादीमा प्रवेश गरिसकेपछि पनि उनलाई एमालेमा छँदाका यादहरुले सताउँथ्यो । भन्छन्, ‘साथीहरुले मलाई तैंले एमालेलाई बनाइस्, तेरो रगत र पसिना एमालेमै बगेको छ भनेर सम्झाउँथे ।’ तर, पछिल्लो समय माओवादीमा एमालेजत्तिको पनि राष्ट्रियताप्रतिको अडान नभएको देखेर उनको मन भरंग हुँदै आएको थियो ।

भैरहवाको सभामा एमालेमा प्रवेश गरेपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले उनलाई अंकमाल गर्दै भने, ‘तपाईले एमाले छाड्दा हामीलाई जति दुःख लागेको थियो, आज फर्केर आउनुभयो, त्यतिखेर हामीमा लागेको चोट मेटिएको छ ।’

भट्टराई एमालेमा फर्किएपछि हिजो साँझ काठमाडौंमा बस्ने छोरा कुसुम भट्टराईले फोन गरेर बधाइ दिए । पत्रकारिता क्षेत्रमै रहेका छोरा कुसुमले भने, ‘तपाई एमालेमा नहुँदा एमालेको पक्षमा लेख्न मन लाग्दैनथ्यो, अब भने एमालेको पक्षमा खुलेरै लेख्छु ।’ बुटवलमै रहेर लेखन कर्ममा लागिरहेका भट्टराईको निचोड छ, ‘अब माओवादी राष्ट्रवादी शक्ति पनि रहेन, क्रान्तिकारी पनि भएन ।’

प्रतिक्रिया दिनुहोस्