आफ्नै जमिनमा पक्की घर थियो, लघुवित्तले सुकुमबासी बनाई दियो


सर्लाही, ८ फागुन । सर्लाहीको बागमती नगरपालिका–१२ की रुकमणी विश्वकर्माको आफ्नै ६ धुर घडेरीमा पक्की घर थियो । ६ महिनाअघिसम्म उनको परिवार त्यही घरमा बस्थ्यो ।
तर, लघुवित्तको ऋणले उनको ६ धुर जग्गासहितको पक्की घर खोसिदियो ।

अहिले नगरपालिकाले सुकुमबासीका लागि दिएको जग्गामा छाप्रो हालेर बसेको छ, उनको परिवार । गाउँमै ऋण लिन बनाइएको समूहमा जोडिएर रुकमणीले पहिलोपटक ०६५ मा ग्रामीण विकास लघुवित्तबाट ३० हजार ऋण लिएकी थिइन् । ०६५ मै त्यसै लघुवित्तबाट फेरि ५० हजार ऋण निकालेर जेठो छोरालाई मलेसिया पठाइन् ।

तर, कमाउन मलेसिया पुगेका छोरा महिनादिनमै जेल परेको खबर आयो । छोरा छुटाउन उनलाई पैसा चाहिने भयो । ६० प्रतिशत ब्याज दिने गरी गाउँमै साहुसँग ऋण गरेर लघुवित्तको ५० हजार तिरिदिइन् । कारण थियो, लघुवित्तबाट धेरै ऋण लिएर छोरालाई छुटाउन पठाउनु र घर व्यवहार पनि चलाउनु ।

ग्रामीण विकास लघुवित्तबाटै १८ प्रतिशत ब्याजमा एक लाख ५० हजार ऋण मागिन् । हातमा एक लाख ३० हजार पर्‍यो । ५० हजार छोरा झिकाउन विदेश पठाइन् । ५० हजारले पाँच धुर घडेरी किनिन् । बाँकी घरखर्चमा चलाइन् । छोरा घर फर्किए । एक वर्षसम्म उनले ब्याज मात्रै तिर्नुपरेकाले समस्या भएन । तर, जब किस्ता पनि तिर्नुपर्ने भयो, तब समस्या सुरु भयो ।

महिनामा १२ हजार किस्ता तिर्न समस्या भएपछि अब रुकमणी स्थानीय साहुकहाँ पुगिन्न्। साहुसँग पैसा लिएर लघुवित्तमा किस्ता तिर्न थालिन् । तर, सयकडा ३ देखि ५ प्रतिशतसम्म ब्याजदरमा लिएको ऋण तीन वर्षमा सात लाख पुग्यो ।

साहुसँग लिएको ऋणले लघुवित्तको ऋणको बोझ घटाउन सकेन । उनले फेरि स्वावलम्बन लघुवित्तबाटै दुई लाख ऋण थपेर छोरालाई दुबई पठाइन् । तर, भने जस्तो काम मिलेन । दुबईमा १० महिना काम गर्दा उनले १० महिनाको किस्ताबाहेक थप तिर्न सकेनन् । ११औं महिनामा छोरा घर फर्किए ।

ऋणको बोझ बढ्दै गएपछि र तिर्न नसकेपछि लघुवित्तका कर्मचारी घरमा धाउन थाले । ‘आँगनमा लाश भए पनि किस्ता नलिई जान्नौं भनेर दबाब दिन्थे,’ रुकमणीले भनिन् । फेरि उनलाई गाउँकै साहुकहाँ जानुपर्ने बाध्यता पर्‍यो ।

छोराले कमाएर तिरौंला भनेपछि उनले फेरि चार लाख ऋण गरेर घर बनाइन् । ०७३ मा सयकडा ५ प्रतिशतमा पाँच लाख ऋण खोजेर छोराको विवाह गरिन् । थप दुई लाख खर्च गरेर फेरि छोरालाई कतार पठाइन् । तर, त्यहाँ पनि राम्रो नभएपछि छोरा २८ दिनमै घर फर्किए । ऋण बढेको बढ्यै भयो, तिर्ने कुनै उपाय भएन ।

पाँच जनाको परिवार चलाउन फेरि डिप्रोक्स लघुवित्तबाट ऋण लिइन् । व्यवहार बिग्रिँदै गएपछि आशा, नेरुडे, मेरो माइक्रो फाइनान्स, छिमेकीलगायत लघुवित्तबाट पनि ऋण लिइन् । यही बीचमा हेटौँडामा भएको दुई कट्ठा पुर्ख्यौली जग्गा नौ लाखमा बेचेर ऋणको ब्याज मात्रै तिरेको उनी बताउँछिन् ।

रुकमणीका अनुसार जम्मा ऋण २५ लाख पुगेको छ । साहुको कब्जामा पुगिसकेको घरजग्गाको १८ लाखसम्म मूल्यांकन गरेका छन् । यस आधारमा पनि सात लाख ऋणमै हुन्छिन् उनी । ‘नियमित तिर्ने हो भने ६० हजारबराबरको त किस्ता नै पुगेको छ, तर के गर्नु, तिर्न पैसा छैन । कहिले त संस्थाका सर–म्याडमहरूले तथानाम गाली गर्छन्,’ रुकमणीले भनिन्, ‘लघुवित्तको दलदलमा यसरी डुबियो कि सबै सकियो ।’

घरबाट डेरामा बास
यस्तै, हरिवनकी धनी खत्री पनि लघुवित्तको जाँतोमा पिसिएकी छिन् । घरबाट झरेर डेरामा पुगेकी छिन् । उनको पनि घरजग्गा गुमिसकेको छ । १० लाखमा बेचेर ऋण तिरेकी छिन् । तर, २० लाख ऋण अझै बाँकी छ ।

एक छोरी, दुई छोरा, श्रीमान् र आफूसहित पाँचजनाको परिवार ठीकठाकै चलिरहेको थियो । श्रीमान् इन्दुशंकर चिनी उद्योगमा काम गर्थे । उनी पनि जग्गा भाडामा लिएर तरकारी र उखु खेती गर्थिन्, बाख्रापाठा पालेर बेच्थिन् ।

तर, दुवै छोराको स्नातक पढ्दापढ्दै मानसिक सन्तुलन गुमेपछि खर्च धान्न समस्या पर्‍यो । त्यसपछि लघुवित्तको सहारामा पुगिन् । छोराहरूको उपचारका लागि २० हजारबाट ऋण लिन थालेकी उनले दुई लाखसम्म लिइन् । लघुवित्तको ऋण बढ्दै गयो, तर छोराको समस्या घटेन । ऋणको किस्ता तिर्नै समस्या पर्न थाल्यो ।

लघुवित्तका कर्मचारीले तनाव दिन थालेपछि धनी स्थानीय साहुकारको दैलोमा पुगिन् । साहुलाई झन् महँगो ब्याज दिने गरी ऋण लिएर लघुवित्तमा तिर्न थालिन् । ‘लघुवित्तका कर्मचारीले दिने बेइज्जत सहनुभन्दा साहुसँग महँगो ब्याजमा ऋण लिइयो,’ उनले भनिन्, ‘छोरो निको भएपछि कमाएर तिर्ला भन्ने लाग्थ्यो, तर सोचेजस्तो नहँदो रहेछ ।’

विभिन्न लघुवित्त र गाउँले साहुकारसँग गरेर उनको ३० लाख ऋण पुगेको थियो । घर जग्गा बेचेर १० लाख तिरेकी उनी अझै २० लाखकी ऋणी छिन् । अहिले दुवै मानसिक रोगी छोरा लिएर धनीको परिवार दुई कोठा भाडामा लिएर बसेको छ । गत वर्ष लडेर श्रीमानको समेत खुट्टा भाँचिएपछि पहिले जस्तो काम गर्न नसक्ने अवस्थामा छन् ।

जीविका धान्न धनीले सानो चिया पसल चलाएकी छिन् । घर–व्यवहार चलाउन लघुवित्तमा ऋण लिँदा र लघुवित्तको किस्ता तिर्न साहुकारसँग ऋण लिँदा सबै सम्पत्ति सकिएको उनी बताउँछिन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्