आफ्नै लगानीमा १० स्थानमा आकाशेपुल बनाउँदै काठमाडौं महानगर


काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाले आफ्नै लगानीमा तीन वर्षभित्र १० वटा आकाशेपुल बनाउने भएको छ । सडक दुर्घटना न्यूनीकरण, पैदलयात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले महानगरले विभिन्न १० स्थानमा आकाशेपुल बनाउने लक्ष्य लिएको हो ।

सहरी पूर्वाधार विकास विभागका अनुसार चालू आर्थिक वर्षभित्रै काठमाडौंमा तीनवटा आकाशेपुल सम्पन्न गर्ने लक्ष्य छ । विभागका इन्जिनियर प्रेमकुमार श्रेष्ठले अघिल्लो आर्थिक वर्ष नै सम्पन्न गर्ने भनिएका ती पुल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताए । उनले भने, ‘जहाँ धेरै भिडभाड हुन्छ, त्यहाँ सडक पार गर्न पनि समस्या छ, त्यस्ता ठाउँमा आकाशेपुल बनाउने महानगरको योजना छ ।’

महानगरपालिकाले बनाउन लागेका सबै पुल फलामका हुन् । पुलको चौडाइ दुई मिटरको हुनेछ । महानगरले चालू आर्थिक वर्षको अन्त्यसम्म माइतीघर, चाबहिल र जयबागेश्वरीमा पुल निर्माण गरिसक्ने इन्जिनियर श्रेष्ठले बताए ।

विभागका अनुसार माइतीघरको आकाशेपुल १६ मिटर लामो हुनेछ । गत असारमै ६८ लाख ७१ हजार तीन सय १५ रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको कोसी विल्डर्सले फागुन मसान्तभित्र काम सक्नुपर्ने सम्झौता छ । पुल निर्माण अन्तिम चरणमा पुगेको छ । इन्जिनियर श्रेष्ठले भने, ‘पुल तयार भइसकेको छ, अब जोडेर प्रयोगमा ल्याउने हो, सम्भवतः चैतको पहिलो साताबाट पुल प्रयोगमा आउँछ ।’

चाबहिल र जयबागेश्वरीमा पनि पुल निर्माणको काम सुरु भएको वडा नम्बर ७ का अध्यक्ष शुद्ध डंगोलले बताए । चाबहिल चोक र जयबागेश्वरीमा बन्ने पुल २२ मिटर लामो हुनेछन् । चाबहिलमा आगामी असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ८२ लाख ६६ हजार रुपैयाँमा कान्छामान निर्माण सेवाले जिम्मा लिएको वडाध्यक्ष डंगोलले बताए । यस्तै, जयबागेश्वरीको पुल ७३ लाख ४३ हजार नौ सय ५५ रुपैयाँमा रिजेन्सी विल्डर्स प्रालिले बनाउँदै छ ।

पुल बनाउने ठाउँ नै छैन

महानगरपालिकाले आर्थिक वर्ष ०७४-७५ लाई आधार वर्ष बनाएर पाँच वर्षभित्र दशवटा आकाशेपुल बनाउने लक्ष्य लिएको थियो । आर्थिक वर्ष ०७९÷८० भित्रमा सबै पुल निर्माण सम्पन्न गर्ने महानगरपालिकाको योजना छ ।

तर, कतिपय प्रस्तावित ठाउँमा भने पुल निर्माणका लागि ठाउँकै समस्या भएको इन्जिनियर श्रेष्ठले बताए । उनले भने, ‘अन्य ठाउँहरूमा पनि पुल बनाउन सर्भे भइरहेको छ । तर, सडकमा पुल बनाउने ठाउँ नै छैन ।’ चाबहिलमा बन्ने पुलले समेत पैदलयात्रुको समस्या नसुल्झिने उनले बताए । ‘सडक तीनतिर जान्छ, त्यहाँ त्यही किसिमको पुल बनाउनुपर्ने हो, तर बनाउने ठाउँको अभाव छ,’ उनले भने, ‘त्यसैले अहिले एकातिर मात्रै पुल बन्दै छ ।’

विभागले गतवर्ष नै महानगर क्षेत्रमा अत्यधिक भिड हुने टेकु, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगन्ज, कोटेश्वर र गौशाला चोकमा आकाशेपुल बनाउने प्रस्ताव अघि बढाएको थियो । तर, ती सबै ठाउँमा सडक विस्तारका कारण पुल निर्माण गर्ने ठाउँ नहुँदा काम अघि बढाउन समस्या भएको छ ।

सहरका सबै ठाउँमा आकाशेपुल बनाउन सम्भव नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाल बताउँछन् । ‘सडकमा सवारीसाधन धेरै छन् । पैदलयात्रुले जथाभावी बाटो काट्छन्, सबै ठाउँमा पुल बनाउन सम्भव नभए पनि जरुरी रहेका ठाउँमा पुल बनाइनुपर्ने हो,’ एसएसपी ढकालले भने । पुल नहुँदा कतिपय मुख्य चोकमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको उनको भनाइ छ ।

पैदलयात्रुसमेत जाममा

राजधानीका सडकमा सवारीसाधनको चाप उच्च छ । कतिपय सडकमा जेब्राक्रसिङसमेत छैन । सडक गाडीले भरिन्छ । जेब्राक्रसिङबाट सडक पार गर्नसमेत पैदलयात्रुले पर्खिनुपर्छ । पछिल्लो समय ट्राफिकलाइट जडान भएका १० स्थानमा पैदलयात्रुका लागिसमेत ट्राफिकलाइट जडान गरिएको छ ।

ती स्थानमा पैदलयात्रुले पनि गाडीले जति नै पर्खिनुपर्छ । ट्राफिक प्रहरीका अनुसार राजधानीका सडकमा जेब्राक्रसिङबाट सडक पार गर्न पैदलयात्रुले २, ३ र ५ मिनेटसम्म पर्खिनुपर्ने अवस्था छ । महानगर क्षेत्रमा यसअघि बनेका पुलहरू निजी क्षेत्रसँगको साझेदारीमा व्यवसायिक रूपमा समेत प्रयोग हुँदै आएका छन् ।

महानगरपालिकासहित काठमाडौं उपत्यकामा ३० वटा आकाशेपुल छन् । सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशेपुल चालू अवस्थामा छन् । रत्नपार्कमा एउटा सबवे छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा प्रयोगमा रहेका पुल केही वर्षअघि मात्रै निर्माण भएका हुन् । भक्तपुर र ललितपुरमा समेत आकाशेपुल बन्ने क्रममा छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्