आरजुका ठेकेदारसँग रघुवीर महासेठ लपक्कै


काठमाडौं ९ जेठ । शेरबहादुर देउवाको सरकारका पालामा देउवा पत्नी आरजुको संरक्षणमा सडकको ठेक्कामा सिन्डिकेट मच्चाउँदै आएका ठेकेदारहरूसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लपक्कै भएपछि सडकका तल्लो तहका कर्मचारीहरू आश्चर्यचकित भएका छन् ।
सडकको ठेक्कामा ठेकेदार कम्पनी कालिका, लामा, रसुवा, चुदी, शर्मालगायत सात कम्पनीको सिन्डिकेट छ । उनीहरूले धरान–चतरा, गल्छी–स्याफ्रुबेंसीलगायतका सडकमा सेटिङ गरेर राज्यलाई अर्बौं नोक्सान पु¥याएका थिए । सडकको सिन्डिकेट अन्त्य गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री महासेठले समेत पत्तै नपाई भ्रष्ट सचिव देवेन्द्र कार्कीलाई सरुवा गराएका थिए । तर, स्रोतका अनुसार उनको सरुवा हुनुअघि नै ती सात ठेकेदार कम्पनीले सचिव र सडकको महानिर्देशक नफेर्ने सर्तमा पत्नी जुलीकुमारी महतोमार्फत राम्रै रकम महासेठलाई बुझाएका थिए ।
सडकको महानिर्देशक गोपाल सिग्देल छन् । भ्रष्ट महानिर्देशकका रूपमा नाम कमाएका सिग्देललाई हटाएर केशव शर्मालाई बनाउन प्रधानमन्त्रीले मन्त्री महासेठलाई पटकपटक भने पनि उनले नमानेको बताइन्छ । उनलाई नहटाउने सर्तमा पैसा बुझिसकेकाले हटाउन नमानेको स्रोतको दाबी छ ।
मन्त्री महासेठकै पालामा यातायातको सिडिकेट भने हट्यो । त्यो हटाउने महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्री महासेठले सरुवा गरेपछि त्यस कार्यको अहिले समाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । यातायातको सिन्डिकेट हटे पनि ठेक्कामा अर्बौंको सिन्डिकेट गर्ने सिग्देललाई चाहिँ नहटाएपछि सडकका कर्मचारीहरूले नयाँ सरकार आएपछि केही नयाँ अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । नयाँ सरकार, नयाँ मन्त्री आएर के भयो र आखिर आरजू, वीरबहादुर बलायर, रमेश लेखकभन्दा के कम भयो त ? भन्दै सडकका कर्मचारीले अनुभूति साटासाट गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्