आरोप–प्रत्यारोपसँगै उद्योगी–व्यापारीहरु चुनाव प्रचारमा व्यस्त


१५ चैत । चौध दिनपछि हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन र निर्वाचनमा उद्योगी–व्यवसायीहरुले आफ्नो तयारी तीव्र पारेका छन् । तयारीसँगै एक–अर्को समूहबीच आरोप–प्रत्यारोप पनि सुरु भएको छ । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छाले उम्मेद्वारी घोषणा गरेको सहर बुटवलमा पुगेर वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानले पनि स्थानीय उद्योग–व्यवसायीहरुसँग छलफल गरेका छन् ।

प्रधानले भने आफ्नै गृहनगर विराटनगरबाट वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका थिए भने गोल्छाले बुटवल पुगेर घोषणा गरेका थिए । बुटवलको छलफलमा प्रधानलाई साथ दिनेहरुमा उनका जेठान अर्थात् महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी र जिल्ला नगरका तर्फबाट उपाध्यक्षका उम्मेद्वार प्रमोद श्रेष्ठ पनि सहभागी थिए । प्रधान समूहले वस्तुगतको तर्फबाट भने उपाध्यक्षको उम्मेद्वार खडा गर्न सकेको छैन ।

प्रधान समूहको बुटवल भेलामा पूर्वअध्यक्ष जोशीले बोल्दै गोल्छा समूहलाई सघाइरहेका वर्तमान अध्यक्ष पशुपति मुरारका र अब हुने अध्यक्ष भवानी राणाप्रति असन्तुष्टि जनाएका थिए । जोशीले मुरारका र राणाले सामान्य आचारसंहितासमेत पालना नगरेको आरोप लगाएका थिए ।

यसैगरी, गोल्छा समूहले भने यही चैत २० गते काठमाडौंमा वृहत् घोषणा सभाको आयोजना गरेको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले ६५ जिल्लाको समर्थन प्राप्त गरेका छन् । उनलाई पूर्वअध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, मुरारका र राणाको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्